Wednesday, November 5, 2014

बाँकेमा बलात्कारको घटना बढ्दै

जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार पछिल्लो समय बलात्कार लगायत महिला र बालबालिका विरुद्वका जघन्य अपराधका घटना बढ्दै गएको पाइएको छ । तीनबर्षको अवधीमा बाँकेमा ७३ जना महिला बलात्कृत भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुशिलसिंह राठौरका अनुसार आर्थिकबर्ष २०६८÷६९ मा जबजरजस्ती करणीका १५ वटा मुद्दा दर्ता भएकोमा आर्थिकवर्ष २०६९÷७० मा बढेर २१ पुगेको छ । यसैगरी आर्थिक बर्ष २०७०÷७१ मा जबरजस्ती करणीका ३० वटा मुद्दा दर्ता गरिएको डिएसपी राठौरले जानकारी दिनुभयो ।
यसैगरी चालु आर्थिकबर्षको साउनयताका चार महिनामा जबजरजस्ती करणीका ७ वटा मुद्दा दर्ता भएका छन् । यसैगरी तीनबर्षको अवधीमा जबरजस्ती करणी उद्योगका २१ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । समग्रमा महिला हिंसाका घटना बर्षेनी बढ्दोक्रममा रहेको पाइएको छ, डिएसपी राठौरले भन्नुभयो,–यस्ता घटनामा पछिल्लो समय धेरैको चासो पनि हुने गरेको छ । महिला मानव अधिकार रक्षक संजाल बाँकेका अध्यक्ष अछरी पोख्रेलले जनचेतनामुलक अभियानको प्रभावसँगै सञ्चार माध्यमले बढि स्थान दिएका कारण पनि महिला हिंसाका घटना बढि जस्तो देखिएको बताउनुभयो ।
महिला हिंसामा संलग्नलाई हदैसम्मको कारवाहीको व्यवस्था नगरेसम्म महिला हिंसाका घटनामा कमी आउन नसक्ने पोख्रेलको भनाई छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, आर्थिकबर्ष २०६८÷६९ मा घरेलु हिंसाका ६० वटा निवेदन परेको थिए । यसैगरी २०६९÷७० मा २३९ र आर्थिकबर्ष २०७०÷७१ मा ३३५ वटा निवेदन दर्ता भएका छन् । घरेलु हिंसाका अधिकाँश निवेदनहरु मिलापत्र हुने गरेको पाइएको छ ।
महिला हिंसा अन्तर्गत पछिल्लो समय महिलालाई जिउदै जलाउने घटना पनि बढ्दै गएको पाइएको छ । गतबर्ष आगो लगाई ज्यान मार्ने शिर्षकमा ३ वटा मुद्दा दर्ता भएकोमा चालु आर्थिकबर्षमा दुईवटा घटना भइसकेका छन् । अधिकाँश घटनामा श्रीमान लगायत घरपरिवारकै सदस्यहरुको संलग्नता हुने गरेको छ ।

No comments:

Post a Comment