Monday, November 3, 2014

महिला हिंसा अनुगमन गर्न आयोग टोली बाँकेमा

नेपालगन्ज, बाँकेमा महिला हिंसा अत्याधिक बृद्धि भएपछि अनुगमन गर्न आएको राष्ट्रिय महिला आयोगको टोलीले त्यस्ता घटना न्यूनीकरण गर्न छुट्टै सरकारी नीतिको माग गरेको छ  ।
पछिल्लो सात महिनामा बाँकेमा सात जना महिला जिउदै जलाईएपछि आयोगको टोली अनुगमनका लागि आएको हो । आयोगका प्रवक्ता मनु हुमागाईको नेतृत्वमा रहेको पाँच सदस्यीय जलाईएका घटनाबारे विस्तृत अध्ययन गरी आइतवार प्रारम्भीक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा जलाउने घटनाको गहिरो अनुसन्धान गरी दोषीमाथि हदैसम्मको कारबाही, फरार अभियुक्तलाई पक्राउ गर्न र उपचारपछि फर्केका पीडितलाई सम्मान र सुरक्षाको माग गरिएको छ ।
त्यस्तै, घटनामा मृत्यु भएका महिलाका असहाय बालबालिकाको स्थिती दयनिय रहेकोभन्दै उनीहरुको लालनपालन र शिक्षाको व्यवस्था गर्नसमेत माग गरिएको छ । धेरैजसो घटना दाईजोको निहुमा भएकाले दाईजो सम्बन्धी ऐनको विधेयक छिटो पास गर्नुपर्ने प्रवक्ता हुमागाईले बताईन् । 'बोक्सी र दाईजोबिरुद्धको ऐनका विधेयकहरु पेस भईसकेका छन्'-उनले भनिन्- कानूनी व्यवस्थापछि नियन्त्रणमा सघाउ पुग्छ ।
उनले जिउदै जलाउनेजस्ता क्रुर र अमानविय ढंगका हिंसा हुने समुदायका लागि विशेष जनचेतनामुलक कार्यक्रम ल्याउनुपर्ने पनि बताईन् । उनका अनुसार, गत बर्ष देशभरमा ४५६ महिला हिंसाका घटना भएको उजुरी आयोगमा आएकोमा १७९ घरेलु हिंसासम्बन्धी रहेका थिए ।

No comments:

Post a Comment