Friday, November 7, 2014

यातना दिएको भन्दै मानवअधिकारवादीहरुले जनाए आपत्ति

बाँके,
 १५ वर्षीय नाबालक जुगलाल थारुलाई प्रहरीले गैर कानुनी रुपमा नियन्त्रणमा लिई यातना दिएको भन्दै मानव अधिकारबादी संस्थाहरुले आपत्ति जनाएका थिए ।
लामो समय देखि ठुला अभियुक्तसंगै इलाका प्रहरी कार्यालय कोहलपुरमा थुनामा राखिएका बाँके बिनौनाका १५ बर्षिय जुगलाल थारुलाई पुनरावेदन अदालत नेपालगंजले शुक्रवार थुना मुक्त गर्ने आदेश दिएको तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्स उप क्षेत्रीय कार्यालय नेपालगंजले जनाएको छ ।
गत असोज २८ गते घर बाटै पक्राउ गरिएका नावालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा थुनामा राख्दा यातना दिएर गैर कानूनी थुनामा राखिएको भन्दै पीडितका दाजु लाल बहादुर थारुले कार्तिक १८ गते गैर कानूनी थुनाबाट मुक्त गरि पाउँ भनी अदालतमा बन्दिप्रत्यक्षिकरणको रिट निवेदन दर्ता गराएका थिए ।
कार्तिक १९ मा बन्दिबालक सहित कार्तिक २१ गते अदालतमा उपस्थित प्रहरीका नाममा आदेश दिएको पुनरावेदन अदालतले बालकलाई गैर कानूनी थुनामा राखिएको ठहर गरेको हो ।
पुनरावेदन अदालत नेपालगंजका न्यायाधीश रामकृष्ण खनाल र दिनेश प्रसाद यादवको इजलासले मुद्धाको सुनुवाई गर्र्दै थुनामा रहेका जुगलाल थारुलाई गैर कानूनी थुनामा राखिएको देखिदा निवेदन माग बमोजिम शुक्रबार नै थुनाबाट मुक्त गरि दिनु भनी प्रत्यक्षिहरुको नाममा बन्दीप्रत्यक्षिकरणको आदेश जारी गरिएको छ ।
एडभोकेसी फोरमको कानूनी सहयोगमा दर्ता भएको उक्त रिट निवेदनमा पीडित बालकका तर्फबाट एडभोकेसी फोरमका क्षेत्रीय संयोजक अधिवक्ता बसन्त गौतम र तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्सका अधिवक्ता बिश्वजित तिवारीले बहश पैरवी गरेका थिए भने बिपक्षी इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला प्रशासन कार्यालय बाँकेका तर्फबाट पुनरावेदन सरकारी वकिल खडक बहादुर खड्काले बहश पैरवी गरेको थर्ड एलायन्सका उपक्षेत्रीय संयोजक आलम खानले बताउनु भयो ।
नाबालक जुगलाललाई नियन्त्रणमा लिई यातना दिनुको कारण र तत्काल रिहा गर्न थर्ड एलायन्सको समन्वयमा एसीयन मानव अधिकार आयोगले नेपाल सरकारका प्रधानमन्त्री सुशील कोईराला सहित आधार दर्जन संग आग्रह सहित गैर कानुनी रुपमा पक्राउ यातना दिनुको कारण का बारेमा स्पष्टिकरण सोधेको थियो ।
बाँकेमा प्रह्रीले गैर कानुनी रुपमा पक्राउ गर्ने र कुनै गल्ती नपाए पछि पक्राउ परेका व्यक्तिहरु माथि सार्वजानिक अपराध मुद्दा चलाउने गरेको छ ।

No comments:

Post a Comment