Tuesday, November 4, 2014

प्रहरीद्वारा अत्यधिक शक्तिको प्रयोग, जयनरायन पटेलको मृत्यु


बारा जिल्लास्थित कंकाली उच्च माविका विद्यार्थीहरुले २०७१ आश्विन १९ गते बाटो अवरुद्ध गरी बाटो मर्मतको मांग गर्दै सिमरौनगढको पावरहाउस चौकबाट आन्दोलन प्रारम्भ गरेका थिए । विद्यार्थीहरुले बाटो मर्मतका लागि आन्दोलन गरिरहेको जानकारी पाएर बारा जिल्लाका प्रहरी उपरिक्षक ईश्वर बाबु कार्की, प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल र राजनीतिक दलले  बाटोमा ग्राभेल –गिट्टी)  खसाउनका लागि असोज २२ गते पहल गरेका थिए । पहलको परिणामस्वरुप दुईबटा टिपर मार्फत २०७१ अश्विन २४ गते विहान ग्राभेल खसाइएको थियो । ग्राभेल खसाइएपछि आन्दोलनरत विद्यार्थीहरुलाई आन्दोलन बन्द गर्न भनिएको थियो, तर विद्यार्थीहरुले जसरी जसरी काम हुदै जान्छ हामी आन्दोलनलाई बन्द गर्दैजान्छौ भन्दै पूर्णरुपमा बन्दको आन्दोलन फिर्ता गर्न अस्वीकार गरेका थिए । आन्दोलनरत विद्यार्थीहरुले २४ गते विहान अन्दाजी ११ः०० बजेदेखि केही बस र ट्रक रोकेर राखेको र दिउँसो करीब १ बजेतिर पावरहाउस चौकमा बसी च्यूरा र दालमोठ खाइरहेका थिए । प्रहरी निरीक्षक निरंजन थापाले आन्दोलनकारीको समुदायलाई लक्षित गर्दै गाली गरेको र आन्दोलनकारीहरुले खाइरहेको च्यूरा र दालमोठलाई लात्तीले मास्दै फालेका प्रदर्शनकारीहरुले बताए ।

आन्दोलनकारीहरुका अगुवा उमेशकुमार कुशवाहा, अरविन्द पटेल र रामपुकार महतोलाई  ईलाका प्रहरी कार्यालयमा लगिएको थियो । केही वेरको भनाभन, वादविवाद र ढुंगामुढापछि पक्राउ गरिएका आन्दोलनकारीहरुलाई प्रहरीले छाडेका थिए । यसैबीचमा स्थानीयरुपमा रहेको बादल एफ.एम.ले आन्दोलनकारीहरुलाई प्रहरीले पक्राउ गरी ईलाका प्रहरी कार्यालयमा लगेकोले आम जनतालाई त्यहाँ आउन भनेको थियो, त्यसपछि  कम्तीमा २– ३ हजार स्थानीय व्यक्तिहरुा ईलाका प्रहरी कार्यालय पुगेका थिए । आन्दोलनकारीहरु र अन्य नागरिकको भीडले ईलाका प्रहरी कार्यालयलाई चारै तिरबाट घेरेर ढुंगामुढा प्रहार गरेका थिए । यसै क्रममा आक्रोशित भीडले ईलाका प्रहरी कार्यालयको अगाडिको पर्खाल भत्काएको, प्रतिक्षालयमा आगो लगाएको, र भान्साकोठामा तोडफोड गर्नुका साथै प्रहरीहरुको कपडामा समेत आगो लगाएको थियो । प्रहरी निरीक्षक निरंजन थापालाई कुटपिट गरिएको र ईप्रकामा रहेका १२ जना अन्य प्रहरीहरुसमेत घाइते भएको प्रहरी निरीक्षक देवकुमार श्रेष्ठको भनाइ रहेको पाइयो । 
भीड नियन्त्रण गर्नका लागि प्रहरीले २४ राउण्ड हवाई फायर गरेको र २२ राउण्ड अश्रुग्यास फालेको प्रहरी निरिक्षक देवकुमार श्रेष्ठले जानकारी गराए  ।
सिमरौनगढमा आन्दोलनले गर्दा अवस्था विग्रिदै गएकोले जिल्ला प्रहरी कार्यालय कलैयाबाट प्रहरी नायब उपरीक्षक रविन्द्र रेग्मीको कमाण्डमा पुगेको टोलीले वातावरणलाई साम्य बनाएको थियो । त्यसपछि अवस्था सहज भई सबै आ–आफनो घरतर्फ लागेका थिए । २०७१ असोज २५ गतेका दिन बिहानैदेखि आन्दोलनकारीहरुले करुवा चौक, लक्ष्मीपुर,  कोतवाली चौक, गंगानगर चौक, पावर हाउस चौक र सिमरौनगढ बजारमा टायर बालेर बाटो अवरोध गरेका थिए । बिहान अन्दाजी ९ः०० वजे तिर कलैयाबाट सशस्त्र प्रहरी बल कलैयाबाट प्रहरी नायब उपरीक्षक अर्जुन सापकोटाको कमाण्डमा ना.१झ. ७९० नं.को प्रहरी गस्ती गाडी र ना.१ग. ५८८ नं.को सानो ट्रिपरमा २५ जनाको बल लिएर पुगेको स्थानिय बासिन्दाहरुले बताए । सशस्त्र प्रहरीहरु गंगानगर क्षेत्रमा पुगेपछि आन्दोलनकारीहरुले चारैतिरबाट घेरेका थिए । स्थानीयका अनुसार नहरभन्दा पूर्वपट्टि १०० देखि १५० जना प्रदर्शनकारी, नहरभन्दा पश्चिमपट्टि पनि करिब १०० देखि १५० जना प्रदर्शनकारी र महादेवस्थानतिर ३०० देखि ४०० जनासम्म प्रदर्शनकारीहरु रहेका थिए । सशस्त्र प्रहरी बललाई प्रदर्शनकारीहरुले तीनै तिरबाट घेरेका थिए । प्रर्दशनकारीहरुले ढुंगामुढा गर्न थालेपछि सशस्त्र प्रहरी वलको तर्फबाट पनि लखेट्ने र एक अर्को पक्षलाई धपाउने र पछाडि हटाउने कार्य गरिरहेका थिए । एक प्रत्यक्षदर्शीका अनुसार, भीड नियन्त्रण नभए पछि सशस्त्र प्रहरीले प्रदर्शनकारीलाई लक्षित गर्दै अश्रुग्यास फालेका थिए । महादेव स्थानतर्फ रहेका प्रदर्शनकारीहरु  अगाडि बढिरहेका थिए र, प्रहरीहरुलाई ढुंगामुढा गर्दै पछाडितर्फ धकेल्न घम्साघम्सी गरिरहेका थिए। दुवै पक्षबीच नहरभन्दा पूर्व र पश्चिम साथै महादेव स्थान तिरबाट पनि घम्साघम्सी हुने र फेरि शान्त हुने गरेको थियो । स्थानिय बासिन्दाका अनुसार, सशस्त्र प्रहरीसंग लट्ठी, शिल्ड, अश्रुग्यास र एसएलआर  हतियार रहेको थियो । लखेटने र पछाडि हट्ने, ढुङ्ग हान्ने कार्य १२ बजेसम्म चलेको थियो  । स्थानीय बासिन्दाका अनुसार, प्रदर्शनकारी र प्रहरीहरुको बीचमा मौखिकरुपमा भनाभन भइरहेको अवस्थामा एक्कासी सप्रबको तर्फबाट बिना कुनै पूर्व  चेतावनी एक्कासी गोली प्रहार गरिएको थियो । गोली प्रहार भएपछि एक छिन प्रदर्शनकारीहरु भागाभाग भएका थिए । प्रत्यक्षदर्शी र घटनास्थलमा उपस्थित पत्रकार भैयाराम साहका अनुसार कसैले पनि सशस्त्रका प्रनाउले गोली चलाउने आदेश दिएको र चेतावनी नसुनेको बताए । त्यसै समयमा धारानिर एकजना व्यक्ति लडे र छटपटाई रहेका थिए । त्यसपछि प्रदर्शनकारीहरु गोली लागेका व्यक्तितिर गएका थिए । त्यहाँ उनीहरुले हरिहरपुर गाविस वडा नं. ७ नवकाटोला बस्ने वर्ष ३८ का जयनारायण पटेल कुर्मीलाई छातीमा वायाँ पट्टि गोली लागेर छटपटाईरहेको देखे । र त्यस्तै हरिहरपुर गाविस वडा नं.५वस्ने शाह मोहमद हवारीको वाया काँधमा पछाडिबाट गोली लागेको थियो र अमृतगंज ३ का नागेश्वर कुशवाहा घाइते भएका थिए । गोली लागे पछि पटेललाई तत्काल त्यहाँबाट उठाएर छेउमा राखियो र शाह मोहमद हवारीलाई बाँया पाखुरामा गोली लागेको भागलाई छोपेर सोही हरिहरपुर गाविस मै रहेको कंकाली पोली क्लीनिकमा लगिएको थियो । पोली क्लीनिकमा लग्दैगर्दा जय नारायण पटेलको मृत्यु भइसकेको थियो । आक्रोशित भीडले सशस्त्र प्रहरीलाई चारैतिरबाट घेराहालेर ढुंगामुढा गर्न थालेका थिए । त्यसैवेला त्यहाँ रहेका एभिन्यूज च्यानेलका सम्वाददाता भैयाराम साह र पत्रकार श्यामबाबुप्रसाद साह, काहुराष्टका धिरेन्द्रप्रसाद साहलगायतका व्यक्तिहरुले सहजीकरण गरी सशस्त्र प्रहरी बलका प्रहरीलाई त्यहाँबाट जान बाटो दिलाएका थिए । प्रहरीले गाडी लिएर जाने भनेपछि आन्दोलनकारीहरुले गाडी लिएर कुनै पनि हालतमा जान नदिने अडान लिएपछि सशस्त्र प्रहरीका प्रनाउ, प्र.नि. र जवानहरु गाडी छोडी पश्चिमतिरबाट कलैया तिरको बाटोमा हवाई फायर गर्दै अगाडि बढेका थिए । गाडी जलाएको सन्दर्भमा प्रहरीले आफै सो गाडी जलाएको भन्ने स्थानीयको भनाइ रहेको र प्रदर्शनकारीले जलाएको भन्ने प्रहरीको भनाइ रहेको पाइयो । त्यसैबीचमा जिल्ला प्रशासन कार्यालय कलैयाले १२ः०० बजेदेखि २ः०० बजे सम्म कफर््यू लगाएको घोषणा गरे पनि सो कफर््यूले  सिमरौनगढमा कुनै प्रभाव पारेको पाइएको थिएन । जयनारायण पटेलको मृत्यु भईसकेपछि उत्तेजित भीडले ईलाका प्रहरी कार्यालय अगाडि शव सहित धर्ना दिएर बसेका थिए । र मिति २०७१ अश्विन २६ गतेका दिन दिउँसो शव लिएर बारा जिल्लाको सदरमुकाम कलैया गएका थिए । यस घटनामा बलको अधिक प्रयोग भएको कुरालाई नकार्न मिल्दैन । भ्िडकएको स्थितिलाई साम्य पार्न असोज ६ गते स्थानीय प्रशासनद्वारा वार्ताको आह्वान गरियो । र, स्थानीय प्रशासन, पीडित परिवार र केही राजनीतिक दलका नेताहरुबीच एघार बूँदे समझदारी गरियो । हुनत् घटनको छानबिन गर्न सरकारद्वारा छानबिन समिति गठन गरिएको छ तर के पीडितले न्याय पाउला त भने प्रश्न आम जनताको मनमा उब्जिन थालेको छ ।

No comments:

Post a Comment