Thursday, January 8, 2015

डा. सि.के. राउतलाई तत्काल रिहा गर

प्रहरीले आज शान्तिपुर्ण आमसभा गर्न नदिई पक्राउ र लाठी चार्ज गरेकोछ । प्रहरीको लाठी चार्जले केही जना घाइते भएका छन् । प्रहरीले धरपकड गरी डा. सि.के. राउत लगायत ५ जनालाई पक्राउ गरेको कार्यप्रति हाम्रो ध्यानाकर्षण भएको छ । राज्यले बारम्बार यस्तै प्रकारका घटना दोह्रयाएको कार्यको थर्ड एलायन्सले घोरभत्र्सना समेत गर्दछ ।
जिल्ला प्रशासन कार्यालय, बिरगञ्जलाई शान्तिपुर्ण आमसभा गर्नको लागि जानकारी गराइएको थियो । भने प्रहरीले बिरगञ्ज उपमहानगरपालिका वडा नं. १० स्थित माईथान मंदिर निर पुर्व निर्धारित आमसभा कार्यक्रमलाईलाई प्रभावित हुनेगरि आज बिहान प्रहरीले आमसभाको लागि मञ्च बनाउन नदिएको र माईक तथा व्यानर खोसेका थिए ।
स्थानीय प्रशासनको यो हस्तक्षेपले नेपालको अन्तरिम संविधान २०६३ को धारा १२ (२) र (३) ले सुनिश्चित गरेको व्यक्तिगत स्वतन्त्रता र शान्तिपुर्ण तवरले सभा सम्मेलन गर्न पाउने जनताको अधिकार माथि आघात गरेको छ । राज्यले पटक पटक उक्त अधिकारको उल्लंघन गर्दै आएको छ । यसअघि नीज डा. राउतलाई शान्तिपुर्ण आमसभा गर्न नदिई २०७१ पौष १३, १४ र १९ गते पक्राउ गरी छाडेको छ । साथै निजलाई बिशेष अदालतको आदेश विपरित पक्राउ गरी राज्यले नै अदालतको अपहेलना गर्दै आएको छ । नेपाल प्रहरीले बिना कसूर पटक पटक पक्राउ गर्नु र छोड्नुले जनसमुदायमा भयत्रासको वातावरण बनेको छ ।
यसरी नेपालको अन्तरिम संविधानले सुनिश्चित गरेको मौलिक हकको उपभोगमा कुनै किसिमको अवरोध नगर्न राष्ट्रिय मानवअधिकार आयोग लगायतका मानवअधिकार संघसस्ंथालाई पहल गर्न अपिल गर्दछौं । साथै डा. सि.के. राउत र नीजका कार्यकर्ता समर्थकलाई अविलम्ब रिहा गरी शान्तिपुर्ण तवरले राजनीतिक सभा सम्मेलन गर्ने अधिकार सुनिश्चित गर्न माग गर्दछौं ।

अविनाश कर्ण
क्षेत्रीय मानवअधिकार संयोजक
थर्ड एलायन्स, क्षेत्रीय कार्यालय, जनकपुर
मितिः २०७१ पौष २४ गते

No comments:

Post a Comment