Saturday, January 3, 2015

डा. सि.के. राउत र निजका कार्यकर्ता समर्थकलाई अविलम्ब रिहा गर

प्रहरीले आज पनि शान्तिपुर्ण आमसभा गर्न नदिई पक्राउ र लाठी चार्ज गर्यो । प्रहरीको लाठी चार्जले तीन जना गम्भीर घाइते भएका छन् । प्रहरीले धरपकड गरी डा. सि.के. राउत लगायत ५ जनालाई पुनः पक्राउ गरेको कार्यप्रति हाम्रो ध्यानाकर्षण भएको छ । राज्यले बारम्बार यस्तै प्रकारका घटना दोह्रयाएको कार्यको थर्ड एलायन्सले घोरभत्र्सना समेत गर्दछ । 
जिल्ला प्रशासन कार्यालय, मोरंङ्गले शान्तिपुर्ण आमसभा गर्न अनुमति दिएको थियो भने प्रहरीले बिराटनगर महानगरपालिका वडा नं. १८ स्थित डिग्री कलेजको चौरमा पुर्व निर्धारित आमसभा कार्यक्रमलाईलाई बिथोल्न हिजै देखि धरपकड सुरु गरेको थियो । आज बिहानै आमसभाको लागि मञ्च समेत बनाउन दिएन । एकातिर प्रजिअले आमसभाको लागि अनुमति दियो भने अर्काे तिर प्रहरीले घरपकड र लाठी चार्ज गर्याे । यसरी राज्यले दोहोरो चरित्र देखायो ।
नेपालको अन्तरिम संविधान २०६३ को धारा १२ (२) र (३) द्धारा प्रदत्त व्यक्तिगत स्वतन्त्रता र शान्तिपुर्ण तवरले सभा सम्मेलन गर्न पाउने जनताको अधिकार माथि आघात परेको छ । राज्यले पटक पटक उक्त अधिकारको उल्लंघन गर्दै आएको छ । यसअघि निज डा. राउतलाई शान्तिपुर्ण आमसभा गर्न नदिई २०७१ पौष १३ र १४ गते दुई पटक पक्राउ गरी छाडेको छ । साथै निजलाई बिशेष अदालतको आदेश विपरित पक्राउ गरी राज्यले नै अदालतको अपहेलना गर्दै आएको छ । नेपाल प्रहरीले बिना कसूर पटक पटक पक्राउ गर्नु र छोड्नुले सम्पुर्ण मधेशी समुदायमा भयत्रासको वातावरण बनेको छ । 
यसरी संविधान प्रदत्त मौलिक हकको उपभोगमा कुनै किसिमको अवरोध नगर्न राष्ट्रिय मानवअधिकार आयोग लगायतका मानवअधिकार संघसस्ंथालाई पहल गर्न अपिल गर्दछौं । साथै डा. सि.के. राउत र निजका कार्यकर्ता समर्थकलाई अविलम्ब रिहा गरी शान्तिपुर्ण तवरले राजनीतिक सभा सम्मेलन गर्ने अधिकार सुनिश्चित गर्न माग गर्दछौं । 

रक्षाराम हरिजन
मानवअधिकार अधिकृत
थर्ड एलायन्स, काठमाण्डौ 
मितिः २०७१ पौष १९ गते 

No comments:

Post a Comment