Monday, February 9, 2015

प्रहरीको यातनाबाट खुट्टा भाँचिएका प्रकाशको उपचारका लागि आर्थिक सहयोग

घोराही, २६ माघ, वडा प्रहरी कार्यालय घोरही र जिल्ला प्रहरी कार्यालय दाङ्गले घोराही वडा नं. ६ का १६ वर्षीय प्रकाश घर्तिलाई नियन्त्रणमा लिई निर्मम यातना दिएको भन्दै पीडितको परिवारले तराई मानव अधिकार रक्षक सञ्जाल थर्ड एलायन्स मध्यपश्चिम उपक्षेत्रीय कार्यालय नेपालगञ्जको कानुनी सहयोगमा दाङ्ग जिल्ला अदालतमा यातना क्षतिपूर्तिका लागि मुद्दा दर्ता गरिएको छ । पीडित परिवारलाई प्रहरीबाट धम्की आएको बताएपछि पीडितका परिवारसँग भेट्न थर्ड एलायन्सका केन्द्रीय अध्यक्ष अधिवक्ता दिपेन्द्र झा आईतबार दाङ्ग पुगी पीडित परिवारसँग भेट गरेका छन् । पीडित परिवारसँग कुरा गर्दै अध्यक्ष झाले यातना तथा अन्य क्रुर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय निषेधित रहेको बताउँदै पीडित परिवारलाई स्वतन्त्रताबाट बञ्चित गरिएकोप्रति प्रहरीले गरेको व्यवहारको घोर निन्दा गरे । पीडितलाई निःशुल्क रुपमा कानुनी सहयोग थर्ड एलायन्सले गरी रहेको बताउँदै आउने दिनमा पीडितलाई निरन्तर सहयोग गरी रहने जिकिर पनि गरे । 
 
यस्तै पीडित परिवारको आर्थिक अवस्था नाजुक रहेको र प्रहरीको यातनाका कारण खुट्टा भाँचिएका प्रकाशको उपचार गराउन पीडितलाई समस्या भएको पीडित परिवारले गुनासो गरेपछि अध्यक्ष झाले प्रकाशलाई नगद १५ हजार रुपियाँ समेत उपचारका लागि सहयोग गरेको थर्ड एलायन्स उपक्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख आलम खानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 
माघ ४ गते घोरही नगरपालिका वडा नं. ६ मा विवाहमा भोज खान गएका प्रकाश घर्ति सहित ६ जनालाई नियन्त्रणमा लिई प्रहरीले यातना दिएको थियो । यातनाका कारण प्रकाशको खुट्टा भाँचिएपछि उपचारका लागि नेपालगञ्ज आएका पीडितका बुबा चुडामणि घर्तिले थर्ड एलायन्समा उजुरी दिएपछि उक्त घटना सार्वजनिक भएको थियो । थर्ड एलायन्स उपक्षेत्रीय कार्यालय नेपालगञ्जले मध्य र सुदुरपश्चिम क्षेत्र भएका यातनाका घटनाहरुलाई दस्ताबेजीकरण गर्ने र पीडितलाई कानुनी प्रक्रिया निःशुल्क सहयोग गर्दै आई रहेको छ । 
 
थर्ड एलायन्सका उप क्षेत्रीय संयोजक आलम खानले प्रकाशको घटनाको अध्ययन गरी केन्द्रीय कार्यालयलाई प्रतिवेदन बुझाएको २ दिन मै एसियन मानव अधिकार आयोगले नाबालक प्रकाशलाई नियन्त्रणमा लिई यातना दिने प्रहरीहरुको पहिचान गरी कानुनी दायरामा ल्याउन र यातना दिने कार्यको तत्काल अन्त्यका लागि प्रधानमन्त्री, गृहमन्त्री, आईजीपी राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षसँग अपिल गर्दै पीडितलाई सुरक्षित रुपमा बस्ने वातावरण मिलाउन अर्जेन्ट अपिल नै प्रकाशित गरेको थियो । यता आईतबार प्रकाशसँग भेट्न थर्ड एलायन्सका अध्यक्ष झासँगै पश्चिम क्षेत्रीय संयोजक शैलेन्द्र हरिजन दाङ्ग पुगेका थिए । आईतबार प्रकाशसँग भेट गरी अध्यक्ष झा सहितको टोली भैरहवा पुगेको छ । थर्ड एलायन्सले सोमबार आयोजन गरेको मानव अधिकारको अवस्था विषयक खुल्ला अन्तरक्रियामा भाग लिन भैरहवा पुगेको जनाएको छ ।
- See more at: http://aajakokhabar.com/newsDetails.php?nid=10466#sthash.zI3Gbv5t.0mfu4XMM.dpuf

No comments:

Post a Comment