Tuesday, August 18, 2015

प्रेस विज्ञप्ति (कपिलवस्तुमा प्रहरीको गोलि लागि ४ घाइते)


संयुक्त मधेसी मोर्चाले आव्हान गरेको अनिश्चितकालीन मधेस बन्दको क्रममा मंगलवार कपिलवस्तु जिल्लाको तौलिहवामा प्रहरी र आन्दोलनकारी बिच झडपमा १२ जना घाइते भएको घटनाप्रति हाम्रो ध्यानाकर्षण भएको छ । 
तौलिहवाको जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शनकारी र प्रहरी बिच झडप भएपछि प्रहरीले चलाएको गोली लागेर परसोहिया ४ का राम सेवक पासी, धर्मपनिया २ का नईम धुनिया, क.ब.न.पा. १० का धिरज पाण्डे र दोहनी ४ मैनिहवाका अन्दाजी १५ बर्षीय रोशन रैदास गम्भीर घाइते भएका छन् उनीहरुको पृथ्वी बीर अस्पताल तौलिहवामा प्रारम्भिक उपचार पछि मेडिकल कलेज भैरहवामा रिफर गरिएको छ । 
साथै संघीय समाजवादी फोरम, नेपालका जिल्ला बरिष्ठ उपाध्यक्ष अब्दुल रसिद खान, विजय गुप्ता (१५), तमलोपाका जिल्ला अध्यक्ष धर्म बहादुर श्रीवास्तव, शलीम खान (३०ं), बृजेन्द्र चौधरी, उमेश चौधरी (१५), सुनिल पाण्डे र एक जना ५६ बर्षीय सर्वसाधारण महिला सहित १२ सामान्य घाइते भएका छन् । नयाँ संविधानको सिमांकन सम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै मधेसी मोर्चा र थारु मोर्चाले आन्दोलन गर्दै आएका छन् । 
प्रदर्शनकारीहरुले घरेलु तथा साना उद्योग कार्यालय, तौलिहवा, कोष तथा लेखा नियन्त्रण कार्यालय र मैनिहवा स्थित नापी कार्यालयमा तोडफोड गरेका छन् । 
यो विषयमा संसद, राष्ट्रिय मानवअधिकार आयोग, संयुक्त राष्ट्र संघ कुटनीतिक नियोगहरु लगायतका सबैको ध्यानाकर्षण गराउन चाहन्छु । यो घटनामा गोली चलाउने र आदेश दिने पदाधिकारीलाई तुरुन्त निलम्बन गरियोस् । घाइतेहरुलाई औषधीउपचारको निशुल्क व्यवस्था गर्नुका साथै अन्यत्र यस्तो घटना नदोहोरिन आग्रह गर्दछु ।
रक्षाराम हरिजन
मानवअधिकार अधिकृत
मिति २०७२ भाद्र ०१ गते

No comments:

Post a Comment