Tuesday, August 4, 2015

शान्ति पूर्ण कार्यक्रममा बल प्रयोग नगर्न माग

आज संयुक्त राजनीतिक दलित संघर्ष समिति, दलित सभासद् समन्वय समिति र दलित नागरिक समाजको संयुक्त आयोजनामा संविधानमा दलित अधिकार सुनिश्चितताका लागि गरिएको शान्ति पुर्ण धर्ना तथा चक्काजाम कार्यक्रममा प्रहरीले अत्यधिक बल प्रयोग गरेको कार्य प्रति हाम्रो ध्यानाकर्षण भएको छ । प्रहरीले लाठी चार्ज गर्नुको साथै गाली गलौज र अमानवीय दुव्र्यवहार समेत गरेको छ । 
उक्त धर्ना कार्यक्रममा प्रहरीले लाठी चार्ज गर्दा कमला हेम्चुरी, दिनेश हरिजन, गणेश वि.क., विनोद पहाडी, दलजीत श्रीपाली, रण बहादुर रम्तेल, जितु गौतम, रणेन्द्र बरायली, सहायक विश्वकर्मा, भद्रमान मोते, दुर्गा सोब, ओम कुमारी, सरु सुनार, बेल कुमारी वि.क. लगायत २६ जना दलित राजनीतिक तथा अधिकार कर्मीहरु घाइते भएका छन् । घाइते मध्ये कमला हेम्चुरीको खुट्टा भाँचिनुको साथै काँधमा नील डाम देखिएको छ । त्यसैगरी दिनेश हरिजनको समेत अवस्था गम्भीर रहेको छ । घाइतेहरुको सिभिल हास्पिटल नयाँ बानेश्वरमा उपचारको लागि भर्ना गरिएको छ । घाइते दिनेश हरिजन र कमला हेम्चरीका अनुसार प्रहरीले लाठी, बुटले हान्नुको साथै साम्प्रदायिक शब्द प्रयोग गाली गलौज गरेका छन् ।
दलित संघर्ष समिति लगायतले संविधानको पहिलो मस्यौदामा दलितको हक अधिकार छुटेको भन्दै दलित मैत्री संविधान निर्माण गर्न माग गर्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुले पहिलो संविधान सहमति गरेका विषयहरु उल्टाएकोले सहमति अनुसार नै गर्नु पर्ने बताउँदै आएका छन् । 
यसरी प्रहरीले आफ्ना अधिकारक्षेत्र भन्दा बाहिर गएर अत्यधिक बल प्रयोग गरेको छ । उक्त घटनाको यथासिघ्र छानबिन गरी दोषीमाथि कारबाही गर्न तथा घाइतेहरुको तत्काल उपचार गर्न सरकारसँग माग गर्दछौं ।
रक्षाराम हरिजन, मानवअधिकार अधिकृत
रन्धीर चौधरी, मानवअधिकार अधिकृत 
मिति २०७१ साउन १९गते




No comments:

Post a Comment