Tuesday, July 21, 2015

प्रहरीले गरेको अत्याधिक बल प्रयोग तुरुन्त रोक्न आग्रह


संविधानको प्रारम्भिक मस्यौदामा सुझाव संकलनको क्रममा तराईको विभिन्न ठाउँमा प्रहरीले गरेको बल प्रयोगप्रति हाम्रो ध्यानाकर्षण भएको छ । तराईका जिल्लाहरुमा मधेश केन्द्रित दल तथा नेकपा–माओवादी लगायतका दलहरुले राय संकलन कार्यक्रमको विरोध गर्दै आएका छन् । सभासदले गरेको सुझाव संकलनमा भइरहेको शान्तिपूर्ण विरोधमा राज्यले गरेको दमनको भ्रत्सर्ना समेत गर्दछौं ।
जनकपुरमा प्रहरीले अत्याधिक बल प्रयोग गर्दा २४ जना घाइते भएका छन् । प्रहरीको बल प्रयोगबाट तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेश चन्द्र लाल, सभासद् डा. विजय सिंह, सद्भावना पार्टीका लाल किशोर साह, संजय सिंह लगायत कैयों महिला नेतृहरु समेत घाइते भएका छन् । गम्भिर घाइते भएका नेकपा—माओवादीका सुशिल कर्ण र तराई मधेश लोकतान्त्रिक पार्टीका योगेन्द्र रायलाई थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ । 
त्यस्तै विरोध गर्ने क्रममा रौतहटको गौरमा समेत प्रहरीद्वारा बल प्रयोग भएको छ । उक्त झडपमा प्रहरीले गरेको लाठी चार्जबाट संघीय समाजवादी फोरम, नेपालका केन्द्रिय सदस्य बवन सिंह र योगेन्द्र राय यादव लगायत १३ जना घाइते भएका छन् । प्रहरीले सप्तरीमा ६० सेल अश्रुग्यास, २० राउण्ड हवाई फायर गर्नुको साथै २१ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीको बल प्रयोगबाट विरेन्द्र माझी, विकास तिवारी, संजीव मण्डल र जगदीश कुशियत लगायतका घाइते भएका छन् । साथै महोत्तरी, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाहरुमा समेत झडप भएको छ ।
यसरी विभिन्न ठाउँमा भइरहेका प्रहरीले गरेको अत्याधिक बल प्रयोग तुरुन्त रोक्न, घाइतेहरुको निशुल्क उपचार गर्न तथा प्रक्राउ परेको व्यक्तिहरुलाई तत्काल रिहागर्न सरकारसँग माग गर्दछौं । साथै अत्यधिक बलको प्रयोग भएका घटनाहरुको तत्काल अनुसंधान गरी दोषी पाइएका सुरक्षा निकायका पदाधिकारीलाई कारवाही समेत माग गर्दछौं ।

विजय कान्त कर्ण                  अधिवक्ता दिपेन्द्र झा                 तुलानारायण साह                  धिरेन्द्र प्रेमषी
मिति २०७२ साउन ४ गते

No comments:

Post a Comment