Tuesday, December 29, 2015

(प्रेस विज्ञप्ति) आन्दोलनकारी माथि सार्वजनिक अपराध, डाँका, चोरी जस्ता झुठा मुद्दा लगाएको सम्बन्धमा

तराई मधेशमा नयाँ संविधान २०७२ जारी हुनुभन्दा पहिलादेखि नै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय समावेशी मधेसी गठबन्धनले निरन्तर आन्दोलन गर्दै आएका छन् । सो आन्दोलन तथा प्रर्दशनको क्रममा केही समय यता आन्दोलनकारीहरुलाई पक्राउ गरी सार्वजनिक अपराध, चोरी, डाँका लगायतको झुठ्ठा मुद्दा लगाएको कार्यप्रति तराई मानवअधिकार रक्षक संजाल (थर्ड एलायन्स)को ध्यानाकर्षण भएको छ ।
प्रहरीले २०७२ पौष ६ गते मलंगवा स्थित रेडियो मधेशमा अन्तर्वार्ता दिइरहेको अवस्थामा मधेसी मोर्चाका सर्लाही जिल्ला संयोजक अशोक यादवलाई पक्राउ गरी सार्वजनिक अपराध मद्दा लगाएको छ । निजलाई जिल्ला प्रशासन कार्यालय, सर्लाहीले धरौटी रिहा गरेको पाइयो ।
यसैगरी पुसको दोश्रो हप्ताभित्र प्रहरी जवानकै उजुरीको आधारमा सप्तरी जिल्लाका ७ जनामाथि चोरी र डाँका मुद्दामा अनुसन्धान गरिरहेको छ । भारदह १ का २१ बर्षीय कृष्ण कुमार पायक, पोर्ताहा ८ का २८ बर्षीय मनराज मण्डल र भारदह ८ का २५ बर्षीय संजित कुमार यादवलाई डाँका मुद्दामा पक्राउ गरेको छ । त्यसैगरी भारदह ४ का २० बर्षीय रिजु झालाई चोरी मुद्दामा पक्राउ गरेको छ भने मधवापुर ४ का २८ बर्षीय संजिव मण्डल र भारदह ८ का २७ बर्षीय नारायण यादवलाई डाँका मुद्दा र भारदह ४ का सुन्दर मुखियालाई चोरी र डाँका मुद्दा लगाएको छ तर उनीहरु पक्राउ परेका छैनन ।
त्यसैगरी जानकी मन्दिरमा तोडफोड तथा ढुँगामुढा गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, धनुषाले पुस ९ गते जनकपुर उपमहानगरपालिका ४ की ४० बर्षीय शिला देवीलाई प्राचिन स्मारक संरक्षण ऐन २०१३ अन्तर्गत मुद्दा चलाएको छ भने स्थानीय सीताशरण मण्डल, राहुल कुमार राउत र रितेश कुमार मण्डललाई सार्वजनिक अपराध मुद्दामा पक्राउ गरेको पाइएको छ । यस्तै अन्य जिल्लाहरुमा यस्तै प्रकृतिको मुद्दा लगाइरहेको अनुगमनको क्रममा पाइयो ।
एकातिर मधेश आन्दोलन तथा प्रर्दशनको क्रममा राज्य पक्षले विभिन्न ठाउँमा अत्यधिक बल प्रयोग गरेको स्थलगत अनुगमनबाट पाइएको छ भने अर्कातिर आन्दोलनलाई दवाउने उद्देश्यले कतिपय निर्दाेष युवा तथा नेताहरुलाई सार्वजनिक अपराध, चोरी, डाँका जस्ता मुद्दा लगाएको पाइएको छ ।
यस्तो कार्यले मधेस आन्दोलन झन् हिंसात्मक बन्न सक्ने हाम्रो ठहर रहेको छ । तसर्थ प्रहरीले स्वेच्छाचारी रुपमा पक्राउ गरी झुठ्ठा मुद्दा लगाएको पाइएकोले निर्दोष युवाहरुमाथि झुठ्ठा मुद्दा लगाउने कार्य रोक्न माग गर्दछौं । साथै आन्दोलनकारीहरुलाई समेत संयमित भई शान्तिपुर्ण रुपमा आफना आन्दोलनका कार्यक्रमहरु गर्न आग्रह गर्दछौं ।

.....................
रक्षाराम हरिजन
मानवअधिकार अधिकृत
मिति ः २०७२।०९।०१४ गते

No comments:

Post a Comment