Wednesday, September 16, 2015

प्रेस विज्ञप्ति

मिति ः २०७२।०५।३० गते

मिति २०७२।०५।२९ गते रुपन्देहीको गोनहा गाविस वडा नं ६ बेथरीमा प्रहरीले चलाएको गोली लागेर बालक र किशोरी सहित चार जना मारिएको घटनाप्रति तराई मानवअधिकार रक्षक संजाल (थर्ड एलायन्स)को गम्भीर ध्यानाकर्षण भएको छ ।

भैरहवा लुम्बिनी सडक खण्डमा पर्ने बेथरी पुल नजिक हाटमा प्रहरीले गोली चलाउँदा चार बर्षीय बालक चन्दन पटेल, १४ बर्षीय किशोरी रञ्जना क्षेत्री, ३५ बर्षीय राजकुमार बरई र ३५ बर्षीय बिन्दु लाकोलको मृत्यु भएको छ । मृतक सबैको टाउको र छात्तीमा गोली लागेको अनुगमनको क्रममा भेटिएको छ ।

भैरहवाबाट मालवाहक गाडीको स्कटिङ गर्ने क्रममा बेथरी स्थित हाट बजारमा एक बृद्ध महिलालाई ट्रकले ठक्कर दिएपछि बजार गर्न आएका केही व्यक्ति उक्त गाडी रोक्न खोज्दा प्रहरीले बजारलाई नै निसाना बनाई अन्धाधुन्ध गोली प्रहार गरेको अनुगमनको क्रममा पाइएको छ । उक्त स्थानमा कुनै किसिमको आन्दोलन वा प्रदर्शन समेत नभएको पाइएको छ ।

सम्मानित सर्वाेच्च अदालतको संयुक्त इजलासले ज्यान जाने किसिमको शक्ति प्रयोग नगर्न अन्तरिम आदेश समेत गरिसकेको छ । तसर्थ राज्यले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ले निर्धारण गरेको मापदण्डको विपरित बल प्रयोग गरेको देखिएकोले त्यस्ता कार्य तत्काल रोक्न र अदालतको आदेशको सम्मान गर्न राज्यसँग आग्रह गर्दछौं ।

.........................
रक्षाराम हरिजन
मानवअधिकार अधिकृत

No comments:

Post a Comment