मिति २०७१/१/१६ गतेका दिन राती ८ः३० बजे तिर हामी फिरादीका छिमेकी जि.कं.भि.न.पा वा.नं.२ महुलिया वस्ने मीन ऐर भनेर चिनिने व्यक्तिले हामी फिरादी समेतलाई गाली गलौच गरेकाले किन हामी श्रमिकहरुलाई गाली गर्छौ ? दिनभरी काम गरी थाकेको अवस्थामा नसताउनुहोस् भनी सम्झाउदा वुझाउदा झन गाली गरिरहँदा हामीले पनि सहन गर्न नसकी रीस उठ्दा प्रतिकार स्वरुप निज मीन ऐर लाई रोक्न भगाउन खोज्दा निजले उल्टै हामीलाई कुटपीट गर्न थाल्दा आफ्नो आत्मरक्षाको लागि नजिकै रहेको सानो लठ्ठिले हिर्काउदा मीन ऐरको टाउकोमा सानो घाउ परेको थियो । निज रक्सीको नसाले मात्तिएको हुँदा आफ्नै कारणले थप चोट पनि लागेको हुनसक्छ, तत्पश्चात निज आफ्नो घर तिर गएको र हामी पनि आफ्नो घर आई खाना खाएर सुतिहाले । निज मीन ऐरले सोही भोलिपल्ट अर्थात २०७१/१/१७ गते बिहान वडा प्रहरी कार्यालयमा उजुरी दिएको रहेछ । बिहान अन्दाजी ७ः३० बजे वडा प्रहरी कार्यालयको निर्देशनमा भाषी प्रहरी बिटका २ जना प्रहरी मोटरसाइकलमा हाम्रोे घरमा आई हामीलाई कुनै थुनुवा पुर्जी वा अन्य जानकारी नै नदिर्ई तपाई संग केही वुझ्नु छ भनी जबरजस्ती अपहरणको शैलीमा हामीलाई मोटरसाइकलमा वसाली हाम्रो अनुनय विनय नै नसुनी सिधै वडा प्रहरी कार्यालयमा ल्याएर थुने । निज मीन ऐर त्यही थिए, मीन दाइ सामान्य घटनामा तपाईले हामीलाई यसरी किन प्रहरी मार्फत थुन्न लगाउनुभयो ? घरमै छलफल गरी मिली वसे राम्रो हुन्थ्यो भनी भन्दा निज मीन ऐरले जवाफ दिनुपूवर््ा वडा प्रहरी कार्यालयका इन्चार्जले तथानाम भन्न र लेख्न नहुने अपशब्द प्रयोग गर्दै मान्छेलाई कुट्ने अपराधी तलाई हामी ठिक गर्छौ भनी मानसिक यातना दिन थाल्नुभयो । किन गाली गर्नुहुन्छ ? हामीले कुनै अन्याय गरेको भए कानुन बमोजिम कारवाही सहन तयार छु भन्दा त साले कानुन जान्ने ल यो कागजमा सही गर भनी मेरो मन्जुरी वेगर पहिले नै तयार गरेको मिलापत्र संज्ञा दिएको कागजमा दस्तखत गर्न कर गर्न थाले । हामीले उक्त कागज पढेर सुनाउनुहोस् के लेखिएको छ भन्दा अर्को प्रहरीले यसमा उपचार गर्नुपर्ने भन्ने लेखिएको छ सही गर भन्न थाले । निज प्रहरीको सर्टको पाकेटमा प्र.ज.धिरेन्द्र प्रसाद पन्त भनी लेखिएकोले निजको नाम थाहा भयो । हामी सो कागजमा सही गर्दैनौं, कुटपीटमा घाउ खर्च दिनुपरे अदालतको फैसलाले दिउँला, यो विषय प्रहरी कार्यालयको होइन भनी भन्दा म फिरादी कालु चौधरी लाई निज धिरेन्द्र पन्तले मेरो कमरभन्दा तल लठ्ठी प्रहार गर्दा मैले अझ कुटछन् कि भनी डरले सो कागजमा सही छाप गरिदिएको थिए ।
हामीलाई प्रहरीले थुनी ल्याएपछि हाम्रा साक्षी लप्टन चौधरी र रामु चौधरी एकछिनपछि वडा प्रहरी कार्यालयमा पुग्नुभएको थियो । हामीलाई लठ्ठीले हिर्काएर कागजमा सही छाप गराएको निजहरुले प्रत्यक्ष देखिराखेका थिए । कागजमा सही गरी सकेपछि छोडिदेलान् भन्ने सोचेको थिए तर वडा प्रहरी कार्यालयका इन्चार्जले ल यो राणीका छोरालाई थुन प्रहरी को हो भनेर चिनाउनुपर्छ हामीलाई कानुन सिकाउनेलाई नसीहत दिनुपर्छ भन्दै निज अन्यायी मध्येको धिरेन्द्र प्रसाद पन्त लाई निर्देशन दिई थुनुवा कोठामा बन्द गर्न लगी मेरा साक्षीहरुलाई बाहिर लखेटिदिए । म कालु चौधरीलाई असह्य हुने गरी टाउकोमा मुक्काले प्रहार गरी मलाई पल्टाई मेरो पैतालामा पलम्वरको पाइपले लगातार कुटन थाले । बिच बिचमा १०० पटक कान समातेर उठ वस गराउँदै कुटदै फेरी १०० पटक उठ वस गराउँदै लगातार कुटदै उठ वस गराउँदै १००० पटक कान समातेर उठ वस गर्दासम्म कुटपीट गरे । यस बिचमा पटक पटक म रोइ कराई चिच्याई माफी माग्दा समेत मानवीय संवेदनाका विरुद्ध मलाई हदैसम्मको यातना दिई म अर्धवेहोस अवस्थामा हुँदा ल यो राणीका छोरा थारु लाई तपसिलमा साक्षीहरुको जिम्मा लगाई छोडेपछि दुवै अन्यायी धिरेन्द्र प्रसाद पन्त र पुष्कर बहादुर चन्दले मलाई घोर यातना दिएका हुँदा निजहरुको कुटपीट गरेको दुःख पीडा सहन गर्न नसकी म कालु चौधरी लाई महाकाली अञ्चल अस्पतालमा भर्ना गराइदिए । हाल म उपचारको क्रममा छु ।
हामीलाई कानुन विपरित र मानवाधिकार विपरित भएको यस यातना विरुद्ध घाउ जाँच केश फाराम गराइमाग्न प्रहरी कार्यालयमा जाँदा उल्टा धम्कि दिई कहिंकतै उजुर गर्यौ भने ठूलो अभियोग लगाएर जीवनभर जेल काट्ने बनाइदिउला भनी भन्ने गरेकोले अन्यत्र आश्रय नभई सम्मानित अदालतमा न्यायका जाने तयारीमा छु ।
No comments:
Post a Comment