रवीन्द्र उप्रेती
मोबाइलबाट तलाक पाएपछि छोराछोरीसाथ शनिबार सञ्चारकर्मीलाई पीडा सुनाउँदै पर्सादेवाड-७ की हस्मुना खातुन । तस्बिर : रवीन्द्र/कान्तिपुर
पर्सादेवाड (महोत्तरी), पुस ७ - विदेश पुगेका पतिले फोनबाटै 'तलाक' दिन थालेपछि स्थानीय मुस्लिम महिला पीडित बनेका छन् । मुस्लिम समुदायमा तीनपटक 'तलाक' भनिदिएमा स्ाम्बन्ध विच्छेद भएको मानिन्छ ।
मोबाइलबाटै तलाक पाएपछि पर्सादेवाड ७ की हस्मुना खातुन दुई छोरछोरीसाथ बिचल्लीमा छिन् । गाउँकै मुस्तकिम शेषसँग उनको दशकअघि बिहे भएको थियो । तीन वर्षअघि मुस्तकिम साउदी अरब गएका थिए । कमाएर आएपछि नयाँ घर बनाउने, जग्गा किन्ने, छेाराछोरी पढाउने र गहना हाल्ने सपना दुवैको थियो । तर विदेश उडेको ६ महिनामै मुस्तकिमले साउदीबाट फोन गरेर 'तलाक' दिए ।
'फोन आएपछि खर्च पठाए होलान् भन्ने आसमा बहिनीको हातबाट हतारहतार मोबाइल लिएँ, तर तँ मेरो लायक छैनस् भन्दै ३ पटक तलाक भन्यो,' हस्मुनाले रुँदै भनिन् ।
तलाक दिएलगत्तै सासू र खलिया सासू -सानिमा सासू) ले उनलाई नाबालक छोराछेारीसाथ घर निकाला गरे । त्यसयता उनी माइतीमा छिन् । लोग्नेले न खर्च
दिएको छ न छोराछेारीको चासो राखेको छ । बनिबुतो गरेर गुजारा चलाएका बुवा
अबदुल गफुर शेषको बोझ बन्नुपरेको दुखेसो उनले सुनाइन् ।
फोनबाटै तलाक पाएर पीडित भएकी अर्की महिला हुन्, ५ सन्तानकी आमा खुस्मुदा खातुन । पर्सादेवाड ७ कै खुस्मुदालाई मामाघर गएको भन्दै श्रीमान् मुख्तार शेषले मुम्बईबाट फोन गरेर तलाक दिए । मुख्तार मुम्बईमा कपडामा सितारा बुन्ने काम गर्छन् । काखे छोरो बिरामी परेपछि उनी उपचारका लागि भारतको गोडहारीस्थित मामाघर गएकी थिइन् । 'त्यति कारणलाई लिएर बुझै नबुझी मोबाइलबाटै तलाक भन्यो,' उनले भनिन्, 'वर्ष दिन भो घर निकाला गरेको, मैले के गल्ती गरें र यत्रो सजाय दियो ?'
सोही गाविस ५ की शेष हसिना खातुनका श्रीमान्ले पनि ७ महिनाअघि मुम्बईबाट फोन गरेर तलाक दिएपछि तीन छेाराछोरीसहित उनी बिचल्लीमा छिन् । श्रीमान् कमाउन मुम्बई गएका छन् । गरिबीका कारण उनी गाउँकै इँटाभट्टामा मजदुरी गर्छिन् । काम जोखिमको भए पनि पारिश्रमिकबापत दैनिक डेढ सय रुपैयाँ पाउँछिन् । त्यति पैसाबाट छोराछोरीलाई भरपेट खान पनि मुस्किल छ । 'ठूली छेारी बिहे गर्ने उमेरकी भएसकी, कमाइले खान पनि पुग्दैन,' हसिनाले पीडा सुनाइन्, 'तलाक भनेदेखि खर्च पनि पठाउँदैन । म एक्लीले कसरी के गर्ने ?'
अधिकांश स्थानीय मुस्लिम महिलाको बिहे दर्ता र छोराछोरीको जन्मदर्तासमेत गरिएको छैन, जसका कारण कानुनी लडाइँका लागि समेत उनीहरूलाई अप्ठ्यारो छ ।
हस्मुनाले तलाकपछि अंश मुद्दा लडेर जितिन् पनि । तर मुद्दा जितेको वर्ष दिन भइसक्दा पनि बिहे दर्ता अभावमा नागरिकता नबन्दा अंश लिन सकेकी छैनन् । दुई वर्षदेखि छोरी कैनाथ खातुन गाउँकै राष्ट्रिय निमाविमा पढ्न जान्छिन्, तर जन्म दर्ता नहुँदा विद्यालयले नाम नलेखिदिएको उनले दुखेसो गरिन् ।
हसिनाले पनि छोराछोरीको जन्मदर्ता नभएकाले स्कुल पठाउन नसकेको बताइन् ।
कक्षा १० मा पढ्ने पर्सा देवाडकी चाँदनी खातुन मुस्लिम महिलालाई कमजोर पार्न र अधिकारबाट वञ्चित राख्न नियतवश बिहे दर्ता र नागरिकता नबनाइदिने गरेको बताउँछिन् । बिहे हुनासाथ दर्ता गरिदिए तलाक समस्या कम हुन सक्ने उनको धारणा छ । 'बिहेलगत्तै दर्ता गरिदिने र नागरिकता बनाइदिए तलाकजस्तो समस्या हुँदैनथ्यो र महिलाले अधिकार पनि पाउँथे,' चाँदनीले भनिन्, 'कहाँ छ महिलालाई हकअधिकार ?'
महिला हकअधिकारका लागि जिल्लामा चेतनामूलक अभियान सञ्चालन गर्दै आएका प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठका अनुसार समुदायको सामाजिक संरचना र त्यसको परिवेशमा हुर्केको मानसिकताका कारण महिलामाथि यस्तो समस्या बढ्दै गएको हो ।
महिला तथा बालबालिका कार्यालयकी सामाजिक परिचालक सुनीता भट्टराईले
लैंगिक हिंसाविरुद्ध कार्यक्रम गर्दै आएको दाबी गरिन् । जलेश्वरस्थित सामाजिक विकाश केन्द्रका अध्यक्ष नइम अन्सारीले मोबाइलबाट तलाक दिने प्रवृत्तिले समुदायमा नयाँ समस्या बढेको बताइन् ।
No comments:
Post a Comment