Tuesday, December 29, 2015

(Press Statement) Regarding filing of false cases including public offence, robbery and theft on protesters

December 29, 2015

Terai Human Rights Defenders (THRD) Alliance shows its serious concern over the recent acts of filing false charges such as public offence, robbery and theft against a dozen of protesters.  
On December 20, UDMF Sarlahi district coordinator Ashok Yadav was apprehended by the police from a local FM radio station ‘Radio Madhes’ in Malangwa, where he was for an interview. A case of public offence has been filed on Yadav. We found that the District Administration Office (DAO) Sarlahi has released him on bail.
Likewise, police investigations into robbery and theft cases that were charged on seven protesters in Saptari district based on the complaints of police themselves within last week of December 2015 are underway. Three of them – Krishna Kumar Payak, 21, of Bhardaha VDC-1, Manaraj Mandal, 20, of Portaha VDC-8, and Sanjit Kumar Yadav, 25, of Bharaha-8 were arrested on charge of robbery. Riju Jha, 20 of Bharaha-4 was also arrested on charge of theft. Although the cases of robbery have been filed against Sanjiv Mandal, 28, of Madhavapur VDC-4, and Narayan Yadav, 27, of Bharadah-8 and Sundar Mukhita of Bhardaha-4 charged with robbery and theft, they have not been arrested.
Similarly, the DAO of Dhanusha on December 24, 2015 filed cases against Shila Devi, 40, of Janakpur Sub-metropolitan city-4 on charge of vandalism and attacks in Janaki Temple under ancient monument preservation act 2013 (BS). We also found that police arrested Sitaram Mandal, Rahul Kumar Raut and Ritesh Kumar Mandal and charged them with public offence.
The state, on one hand, has used excessive use of force during Madhes protest and demonstrations while, on the other hand, false charges such as public offence, robbery and theft have been filed on some innocent youths and Madhesi leaders with an aim to suppress the movement. This is completely against fundamental rights to peaceful demonstration.
We believe that such acts by the state will only push the movement toward further violence. Hence, we demand police to stop filing false charges on innocent protesters following their arbitrary detention and also refrain from using excessive force. We also urge the protesters to organize the protest programs in a peaceful manner.  
---------------------
Raksha Ram Harijan
Human Rights Officer

(प्रेस विज्ञप्ति) आन्दोलनकारी माथि सार्वजनिक अपराध, डाँका, चोरी जस्ता झुठा मुद्दा लगाएको सम्बन्धमा

तराई मधेशमा नयाँ संविधान २०७२ जारी हुनुभन्दा पहिलादेखि नै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय समावेशी मधेसी गठबन्धनले निरन्तर आन्दोलन गर्दै आएका छन् । सो आन्दोलन तथा प्रर्दशनको क्रममा केही समय यता आन्दोलनकारीहरुलाई पक्राउ गरी सार्वजनिक अपराध, चोरी, डाँका लगायतको झुठ्ठा मुद्दा लगाएको कार्यप्रति तराई मानवअधिकार रक्षक संजाल (थर्ड एलायन्स)को ध्यानाकर्षण भएको छ ।
प्रहरीले २०७२ पौष ६ गते मलंगवा स्थित रेडियो मधेशमा अन्तर्वार्ता दिइरहेको अवस्थामा मधेसी मोर्चाका सर्लाही जिल्ला संयोजक अशोक यादवलाई पक्राउ गरी सार्वजनिक अपराध मद्दा लगाएको छ । निजलाई जिल्ला प्रशासन कार्यालय, सर्लाहीले धरौटी रिहा गरेको पाइयो ।
यसैगरी पुसको दोश्रो हप्ताभित्र प्रहरी जवानकै उजुरीको आधारमा सप्तरी जिल्लाका ७ जनामाथि चोरी र डाँका मुद्दामा अनुसन्धान गरिरहेको छ । भारदह १ का २१ बर्षीय कृष्ण कुमार पायक, पोर्ताहा ८ का २८ बर्षीय मनराज मण्डल र भारदह ८ का २५ बर्षीय संजित कुमार यादवलाई डाँका मुद्दामा पक्राउ गरेको छ । त्यसैगरी भारदह ४ का २० बर्षीय रिजु झालाई चोरी मुद्दामा पक्राउ गरेको छ भने मधवापुर ४ का २८ बर्षीय संजिव मण्डल र भारदह ८ का २७ बर्षीय नारायण यादवलाई डाँका मुद्दा र भारदह ४ का सुन्दर मुखियालाई चोरी र डाँका मुद्दा लगाएको छ तर उनीहरु पक्राउ परेका छैनन ।
त्यसैगरी जानकी मन्दिरमा तोडफोड तथा ढुँगामुढा गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, धनुषाले पुस ९ गते जनकपुर उपमहानगरपालिका ४ की ४० बर्षीय शिला देवीलाई प्राचिन स्मारक संरक्षण ऐन २०१३ अन्तर्गत मुद्दा चलाएको छ भने स्थानीय सीताशरण मण्डल, राहुल कुमार राउत र रितेश कुमार मण्डललाई सार्वजनिक अपराध मुद्दामा पक्राउ गरेको पाइएको छ । यस्तै अन्य जिल्लाहरुमा यस्तै प्रकृतिको मुद्दा लगाइरहेको अनुगमनको क्रममा पाइयो ।
एकातिर मधेश आन्दोलन तथा प्रर्दशनको क्रममा राज्य पक्षले विभिन्न ठाउँमा अत्यधिक बल प्रयोग गरेको स्थलगत अनुगमनबाट पाइएको छ भने अर्कातिर आन्दोलनलाई दवाउने उद्देश्यले कतिपय निर्दाेष युवा तथा नेताहरुलाई सार्वजनिक अपराध, चोरी, डाँका जस्ता मुद्दा लगाएको पाइएको छ ।
यस्तो कार्यले मधेस आन्दोलन झन् हिंसात्मक बन्न सक्ने हाम्रो ठहर रहेको छ । तसर्थ प्रहरीले स्वेच्छाचारी रुपमा पक्राउ गरी झुठ्ठा मुद्दा लगाएको पाइएकोले निर्दोष युवाहरुमाथि झुठ्ठा मुद्दा लगाउने कार्य रोक्न माग गर्दछौं । साथै आन्दोलनकारीहरुलाई समेत संयमित भई शान्तिपुर्ण रुपमा आफना आन्दोलनका कार्यक्रमहरु गर्न आग्रह गर्दछौं ।

.....................
रक्षाराम हरिजन
मानवअधिकार अधिकृत
मिति ः २०७२।०९।०१४ गते

Thursday, October 29, 2015

चाडपर्वलाई आन्दोलन तुहाउने तुरुप नबनाउँ

दिपेन्द्र झा
पृथ्वीनारायण शाहको पालामा जस्तो बन्दूकले नेपालको एकीकरण गर्ने बेला होइन यो। केवल भावना र प्रेमले मात्र नेपाली राष्ट्रियतामा मधेसीको समिश्रण गरी एकीकरण हुन सक्छ। हामी क्षमाप्रार्थी छौँ, नाकाबन्दीले काठमाडौंमा पेट्रोल, डिजेल, ग्यास नपाएर सर्वसाधारणले दुःख पाएकोमा। तपाईँहरू पनि पश्चाताप गर्नुस्, मधेसले दुई महिनादेखि आन्दोलन गर्दा मौन बस्नु भएकोमा,  पैँतालिस जना मानिस मर्दा मानवीय संवेदना समेत गहिरो गरी व्यक्त नगर्नु भएकोमा।
अहिले केपी शर्मा ओलीको प्रधानमन्त्रित्वमा नयाँ सरकार बनेको छ। र सरकारले आन्दोलनरत मधेसी थारूहरूसँग वार्ता गर्ने कुरा गरेको छ, तर वार्ताको लागि कुनै ठोस पहल भएको छैन। त्यसमा पनि ओलीजीको पुरानो उखान टुक्काहरु, 'एक दुई आँप झर्दै केही हुँदैन,' 'बिहार र युपीतिर समतल भूमि खोज्न गए हुन्छ, दुई चार जनाले अतिवादी गरेको आन्दोलन हो,' आदि जस्ता अभिव्यक्तिले विश्वास गर्ने ठाँउ पनि धेरै छैन। सत्तामा गएपछि अलि नरम हुने र जस पाउनकै लागि भएपनि मागहरू सम्बोधन गर्ने हुन कि भन्ने झिनो आशा पनि नभएको होइन।
मधेसी र थारूहरूको घाउमा मलम लगाउन जरुरी छ, नत्र त्यो केवल पेट्रोलको लागि हुने वार्ता कति नै लामो जाला र! आन्दोलनकारी थाकेर पछि आफैं घर फर्किन्छ भन्ने सोचले नै आज यो अवस्था ल्याएको हो। चाडपर्व आयो, आन्दोलन आफैं घर फर्कनेछ भन्ने सोच यदि तपाईले बनाउनुभएको छ भने प्रचण्डको शब्द सापटी लिएर भन्न चाहन्छु, त्यो आत्मघाती र राष्ट्रघाती कदममात्र सावित हुनेछ। यसकारण चाडपर्वलाई आन्दोलन तुहाउने तुरुपको रुपमा प्रयोग नगरौं।
संसदमा दर्ता भैसकेको संविधान संशोधनको विधेयक वीरबलको खिचडी नहोस्। नभए काँग्रेस सहितको शक्तिशाली प्रतिपक्षले पैँतिस बुँदे संशोधन दर्ता गराउन बेर छैन। त्यसमा पनि भारत डण्डा लिएर बसेकै छ र उही फेरि छ महिने सरकार नहोला भन्न सकिदैँन। साथै आन्दोलनको राजनीतिक सम्बोधन भएन भने त्यसको अर्को मनोवैज्ञानिक प्रभाव पनि छ। मधेसका युवामा यति ठूलो चोट पर्छ कि त्यसले उत्पन्न गर्ने परिणामले देशको सम्प्रभुतालाई खहरे खोला जस्तो भीरको माटो जस्तै विस्तारै स्खलन पार्न सक्छ। यसकारण दशैँ, तिहार र छठको बोनस लिने प्रयास नगरौं र आन्दोलनलाई सम्बोधन गर्नमा अब पनि ढिलाइ नगरौँ। संविधान संशोधन गरी बरु काठमाडौँलाई छठमय बनाए हुन्छ।
मधेसी मोर्चाले अस्ति प्रधानमन्त्रीको निर्वाचनमा भोट हाल्यो, अब यो संविधानलाई मानिसक्यो भनेर विद्धानहरुले आत्मरति गर्नुको कुनै अर्थ छैन। उनीहरुले संविधान जलाउनुको मतलव संविधानको हरेक प्रावधानप्रति उनीहरुको विमति थियो भन्ने होइन। उनीहरूले विमति जनाएको हदसम्म मात्र संविधान जलाउने कुरा गरेका थिए। नत्र उनीहरूले प्रस्तुत गरेको मागमा यो संविधानको पुनर्लेखनको माग आउँथ्यो होला नि? त्यसकारण मधेसी मोर्चाको सहभागितालाई लिएर कसैले गलत अर्थ लगाउन जरुरी छैन। मधेसी मोर्चालाई वैद्य जस्तो बहिस्कारवादी र केशरजंग रायमाझी जस्तो आत्मसर्मपणवादीको रूपमा चित्रित गर्नु उपयुक्त हुँदैन। मधेसी मोर्चाले यो संविधानमा प्रजातान्त्रिक तरिकाबाट संशोधन खोजेको हो। के मधेसी मोर्चाले खोजेको संशोधनसँग मिल्दोजुल्दो संशोधन नेपाली कांग्रेस,नेकपा एमाले र एनेकपा माओवादीका मधेसी सभासदहरुले खोजेका थिएनन्?  एनेकपा माओवादीले संविधानसभामा दर्ता गरेको फरक मत पनि हेरौँ न।
संविधानले गणतन्त्र स्वीकार गरेको छ, त्यसकारण मधेसी मोर्चाले गणतन्त्र स्वीकार नगर्ने कुनै कारण छैन। मधेसी मोर्चाले सीमांकनमा विमती जनाएको छ, र त्यर्सो गर्ने जायज तर्क पनि उनीहरूसँग छ। यो संविधानले संघीयतामा ‘जेरिम्यान्डेरिङ’ गरे पनि सैद्धान्तिक रूपमा संघीयतालाई स्वीकार गरेको छ, त्यसकारण मधेसी मोर्चाले जेरिम्यान्डेरिङको हदसम्म संघीयताको विरोध गरेको हो। त्यसको मतलव संविधानले स्थापित गरेको संघीयताप्रति मोर्चाको विरोध नै छैन भन्ने होइन। प्रधानमन्त्रीको निर्वाचनमा सुशील कोइरालालाई भोट हाल्न गएकोमा मधेशी जनतामा देखिएको आक्रोश सम्बोधनका लागि मधेशी मोर्चाले जनता र आन्दोलनकारीसँग क्षमायाचना गरे हुन्छ। राजनीतिमा सधैँ सही निर्णय हुन्छ भन्ने पनि छैन। केही निर्णयहरु गलत र केही निर्णयहरू सही हुन्छन्। गलत निर्णय भएको खण्डमा सार्वजनिक रुपमै गल्ती स्वीकार गर्नु राजनीतिक इमान्दारीता हो। नजित्ने दौडको खेलाडी हुनु उपयुक्त थिएन।
सरकार बनाउने गिराउने अथवा कसलाई प्रधानमन्त्री बनाउने भन्ने मधेशको धेरै चासोको विषय होइन। मुख्य सरोकार भनेको संविधानमा रहेका सीमांकन, निर्वाचन प्रणाली, समानुपातिक समावेशी, निर्वाचन क्षेत्र, प्रदेशहरूको स्वायत्तता तथा नागरिकतासम्बन्धी त्रुटिपूर्ण व्यवस्थामा संशोधन नै मोर्चाका मुख्य सरोकारहरु हुन। असहमत र बहिस्कारवादीमा केही भिन्नता अवश्य पनि होला नि। त्यसकारण मधेसी मोर्चालाई बदनाम गर्नका लागि अगाडि सार्ने  तर्क (मधेसी मोर्चाले संविधान स्वीकार गरिसक्यो) भन्ने तर्क गर्नु बेकार छ, यसले नेपाली समाजलाई फेरि पनि समस्याको समाधान दिनुभन्दा पनि स्थितिलाई जटिल बनाउने र विमति चर्काउने स्थितिमात्र हुन सक्छ। यस्तो हार र जीतको सेन्स दिने वाक्यहरूको धेरै प्रयोग अहिलेको अवस्थामा उपयुक्त छैन।
अहिले समाज ज्यादै नै धुवीकृत भएको छ। पहाडी समुदायका अधिकांश मानिसहरूमा राष्ट्रियताको मामलामा नारायणमान बिजुक्छें प्रवृति देखिएको छ भने संघीयताको मामलामा चित्रबहादुर केसीको प्रवृति। त्यस्तै अधिकांश मधेशीहरूमा सिके राउतप्रतिको झुकाउ बढ्दै गएको छ। मित्र तुलाजी भन्नुहुन्छ, फोहोरलाई कारपेट मुनि लुकाएर कोठामा रुम फ्रेसनर छर्केर हुँदैन। यसकारण समस्याको जड के हो त? त्यसमा छिर्नु पर्‍यो। समस्यको मूल जड नै नेपाली राष्ट्रियताको साँघुरो परिभाषा हो, जसलाई सत्तामा उक्लिने भर्याङको रुपमा प्रयोग गरिन्छ। जब मूलधारे दलहरू नै राष्ट्रियताको “ओपीयम” प्रयोग गरी जनतालाई लठयाएर कुर्सीसम्म पुग्ने भर्‍याङको रुपमा प्रयोग गर्छन् भने कसको के लाग्छ र? राष्ट्रियता हाम्रो गरीबी, पछौटेपन, भ्रष्टाचार, विभेद, दण्डहीनता अविकासमा खोज्नु पर्ने हो।  तर के गर्नु हाम्रो देशमा राष्ट्रियता अनुहार र पहिरनमा खोजिन्छ।

Sunday, October 18, 2015

“हामी चाहिँ नेपाली नै होइनौँ जस्तो” (HUMAN RIGHTS WATCH | OCTOBER 2015)














 हामी चाहिँ नेपाली नै होइनौँ जस्तो
नेपालको तराई क्षेत्रमा विरोध प्रदर्शन र प्रहरी कारवाही










सारांश


उनीहरूले टियरग्यास हाने र बालबच्चालाई तर्साए। यहाँ सबै एकदम धेरै डराएका छन्, पुलिससित डराएका छन्। महिला र बालबालिका घरबाहिर जानै चाहँदैनन् हामीलाई अमानवीय, दोस्रो दर्जाका नागरिकलाई जस्तो व्यवहार गरिएको छ। हामी त नेपाली नै होइनौँ जस्तो, हामी कुनै अपराधी वा आतङ्ककारी हौँ भनेजस्तो।
-    प्रहरी हिंसाका एकजना प्रत्यक्षदर्शी, महोत्तरी, सेप्टेम्बर २०१५

यदि सशस्त्र प्रहरी र्मचारीलाई लाई निजको कर्तव्यपालनमा अवरोध गरियो भने वा भौतिक आक्रमण गरियो भने निजले आफ्नो प्रतिरक्षाका लागि र कानूनको प्रतिपालनाका लागि आवश्यक वा अन्तिम बल प्रयोग गर्न सक्छ।
- नेपाल सरकारद्वारा जुलाई ७ मा जारी सशस्त्र प्रहरी नियमावली परिच्छेद ८, दफा ५८ (३)

२०१५ सेप्टेम्बर ११ का दिन जनकपुरको मिल्स एरिया हुँदै शहरको केन्द्रभाग तिर जाँदै गरेका प्रदर्शनकारीहरूको एउटा समूह माथि प्रहरीले अश्रुग्यास प्रयोग गर्‍यो र गोली पनि प्रहार गर्‍यो। आसपासका घरहरूमा लागेको गोलीको दागबाट पनि त्यहाँ बन्दुक चलाइएको पुष्टि हुन्छ। त्यहाँका बासिन्दाहरूका अनुसार प्रहरीले भाग्दै गरेका प्रदर्शनकारीहरूलाई घर कम्पाउन्ड भित्रसम्म लखेट्यो, उनीहरूलाई त्यहाँ समेत आक्रमण गर्‍यो र मान्छेका घरभित्र समेत गोली चलायो।

चौध वर्षका नितु यादव प्रदर्शनकारी मध्येका एकजना थिए। उनले झाडीमा छलिएर प्रहरीबाट जोगिने प्रयास गरे। त्यसपछि के के भयो भन्ने कुरा चार जना अलग अलग प्रत्यक्षदर्शीले ह्युमन राइट्स वाचलाई बताए। मानिसहरूका आँखाकै सामुन्ने प्रहरीले लुकेका ठाउँबाट ती बालकलाई घिसारेर बाहिर निकाल्यो, जमीनमा पछार्‍यो, एकजना अधिकृत उनका खुट्टामा टेकेर उभिए र उनको अनुहारमै ताकेर गोली हाने। पछि यादवको शव परीक्षा गर्ने डाक्टरहरूले चोटका आधारमा पनि यही बयानलाई पुष्टि गरे।

अर्का प्रदर्शनकारी सञ्जय चौधरी छेउमा लुकिरहेका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार  उनी त्यहाँबाट भाग्न मात्र के खोजेका थिए, उनलाई पछाडिबाट गोली हानियो। अस्पताल पुर्‍याएको केही छिनमै उनको मृत्यु भयो।

अगस्ट र सेप्टेम्बर महिनामा नेपालको नयाँ संविधानका बारेमा भएका हिंसात्मक प्रदर्शनहरूमा करीब ४५ जना मारिए, जसमध्येका सबैजसो घटना तराईमा भएका थिए। यो प्रतिवेदनले २०१५ को अगस्ट २४ देखि सेप्टेम्बर ११ सम्म तराईका ५ जिल्लामा भएको १६ जना सर्वसाधारण र ९ जना प्रहरी अधिकृत गरी २५ जनाको हत्याको अभिलेख गरेको छ। प्रहरी लगायतका कुनै पनि मृतकले मारिएको समयमा कुनै पनि प्रकारको खतरा हुनसक्ने कार्य गरेको प्रमाण ह्युमन राइट्स वाचले फेला पारेको छैन।

नौ जना प्रहरीहरू दुईवटा अलग अलग घटनामा मारिएका हुन्। २४ अगस्टका दिन टिकापुरमा प्रदर्शनकारीहरूको एउटा आक्रोशित भीडले प्रहरीहरूको एउटा सानो समूहलाई घेरेर घरेलु हातहतियारले क्रूरतापूर्वक आक्रमण गर्दा उनीहरूमध्ये आठ जना मारिए। त्यही दिन कुनै अज्ञात हत्यारा, सम्भवतः आठ जना प्रहरीको हत्या गर्ने समूहसित सम्बन्धित कुनै व्यक्तिले अर्का एकजना प्रहरीका १८ महिनाका बालक छोरालाई गोली हानेर हत्या गर्‍यो।

बाँकी १५ जना मृतकहरू सबैलाई प्रहरीले गोली हानेको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार तिनीहरूमध्ये छ जना प्रदर्शनका सहभागी नभई रमितेहरू मात्र थिए। मृतक मध्येका दुई जना, जलेश्वरका राम विवेक यादव र कलैयाका हिफाजत मिया अन्सारी पहिले नै घाइते भइसकेका थिए। धेरैजना प्रत्यक्षदर्शीका अनुसार उनीहरू भुइँमा लडेका थिए र प्रहरीले उनीहरूलाई जानाजान मारेको थियो। अर्को दुःखदायी घटनामा जनकपुरमा १२ वर्षका विकास यादवलाई गोली हानेर घाइते बनाइयो, जो अर्का एकजना घाइतेलाई पानी दिन खोज्दै थिए।

ह्युमन राइट्स वाचले भ्रमण गरेका सबै पाँचै जिल्लामा हामीले प्रहरीले घरभित्र पसेर महिला र बुढापाका लगायतका घरका मानिसहरूलाई कुटपिट गरेको, हिंसात्मक घटनाका बेला गरेको जातीय हिसाबले अपमानजनक गाली गलौज, ज्यान मार्ने धम्की, बाटो हिँड्ने मान्छेहरूलाई गरेको जथाभावी कुटपीट तथा नयाँ संविधानको विरोध गर्ने समुदायका सदस्यहरूलाई दुर्व्यवहार गरेको जस्ता आरोप सुन्यौँ। बीरगञ्जमा दुईजना प्रत्यक्षदर्शीले एकजना प्रहरी अधिकृतले एउटा अस्पतालमा कसरी नियतपूर्वक गोली चलाए भन्ने कुराको वर्णन गरे। उक्त घटनामा दुवै प्रत्यक्षदर्शीलाई गम्भीर चोटपटक लागेको थियो।

संक्षेपमा, प्रतिरक्षा रहित प्रहरीमाथि प्रदशर्नकारीहरूले गरेको आपराधिक आक्रमणका अकाट्य प्रमाणहरूहरूका साथै प्रदर्शनकारी र रमितेहरूमाथि प्रहरीले गरेका बलको असमानुपातिक प्रयोग तथा गैरन्यायिक हत्या लगायतका अनेक गम्भीर अपराधका पर्याप्त प्रमाणहरू पनि उपलब्ध छन्। मृत्युका अतिरिक्त, सयौँ व्यक्ति घाइते भएका छन् जसमध्ये केहीको अवस्था चिन्ताजनक छ।

प्रदर्शनकारीहरूले कैयन् सवारी साधन र घरहरूमा पनि आक्रमण गरेर क्षति पुर्‍याएका छन्। यसै बीचमा, प्रदर्शनकारीहरूले गराएको बन्द र सरकारले लगाएको कर्फ्यु तथा “निषेधित क्षेत्र” का कारण सामान्य जनजीवनमा अत्यन्त नकारात्मक असर परेको छ र कठोर आर्थिक समस्या उत्पन्न भएको छ। सेप्टेम्बरको उत्तरार्धदेखि भारतको सिमाना भएर आयात हुने बस्तुहरूको प्रवाह उल्लेखनीयरूपमा कटौती भएको छ र मुलुकभर इन्धन तथा अन्य आवश्यक बस्तुहरूको ठूलो अभाव सृजना भएको छ। यसका लागि नेपाल सरकारले मधेशीहरूको माग अनुरूप संविधान संशोधन गराउनका लागि अघोषित नाकाबन्दी लगाएको भनेर भारत सरकारलाई आरोप लगाएको छ। भारतले यो आरोप अस्वीकार गर्दै भनेको छ, नेपालमा आपूर्तिको अभाव भएको प्रदर्शनकारीहरूले गरेको नाकाबन्दी र मालबाहक ट्रकहरूको आवगमनका लागि पर्याप्त सुरक्षा नभएकाले हो।

विवादास्पद संविधान
नेपालको संविधान मस्यौदाको विलम्बित प्रक्रियाको अन्तिम सातातिर आएर विरोध प्रदर्शन सुरु भयो। माओवादी विद्रोह र गृहयुद्धको अन्त्य गर्नका लागि २००६ मा हस्ताक्षर भएको शान्ति सम्झौताको मुख्य मुद्धा नै निर्वाचित संविधानसभामार्फत संविधानको मस्यौदा गरिने भन्ने थियो। पहिलो संविधानसभाको निर्वाचन २००८ माएको थियो तर मूलतः सङ्घीय प्रदेशहरूको सीमाङ्कन गर्ने विषयमा भएका मतभेदका कारण उक्त संविधानसभाले नयाँ संविधान जारी गर्न सकेन। २०१३ मा निर्वाचित दोस्रो संविधानसभामा पनि एक वर्षभन्दा अघिदेखि गतिरोध थियो। तर अप्रिल २०१५ मा आएको विनाशकारी भूकम्प पछि चारवटा मुख्य दलहरूले “फास्ट ट्र्याक” बाट संविधान पूरा गर्ने निर्णय गरे।

तर, भारतसित सिमाना जोडिएको नेपालको दक्षिणी भागदेखि चुरे पहाडको फेदसम्म फैलिएको तराईका सीमान्तकृत समूहहरूले यो “फास्ट ट्र्याक” प्रक्रिया र त्यसबाट तयार गरिएको संविधानका बारेमा आपत्ति प्रकट गरे। यसै पनि सङ्घीय प्रदेशहरूको सीमाङ्कन त सबभन्दा विवादास्पद विषय थियो नै। विशेषतः नयाँ संविधानको विरोध गर्नेमा तुलनात्मकरूपमा ठूला दुईवटा जातीय वा सामाजिक समूहहरू थिए, पूर्वी र मध्य तराईमा केन्द्रित मधेशी र सुदुर पश्चिमी तराईमा केन्द्रित थारूहरू। उनीहरूले नयाँ संविधानका  सङ्घीय सीमाङ्कन सम्बन्धी तथा अन्य केही पक्षका कुराप्रति आपत्ती जनाए, जसले उनीहरूको दावी अनुसार आफ्नो समुदायसित पहिले भएका सम्झौताहरूको बेवास्ता गरेको थियो र “दोस्रो दर्जाका नागरिक” हरूको सृजना गरेको यो संसदीय निर्वाचन क्षेत्रहरूको असमान वितरण तथा महिलाले आफ्नो बच्चालाई नागरिकताको हक दिन नपाउने व्यवस्थाका बारेमा पनि असहमतिहरू थिए।

यी असन्तुष्टीहरूको मूल कारण भने पहाडी सामाजिक सम्भ्रान्तहरूको प्रभावमा रहेका एकपछि अर्को सरकारहरूद्वारा मधेशी र थारू लगायतका सीमान्तकृत समूहहरूका विरुद्धमा भएको लामो समयदेखिको भेदभावको इतिहास हो। यी समूहका सदस्यहरूको सरकारमा, सार्वजनिक रोजगारीमा तथा सञ्चार माध्यम लगायतका प्रभावकारी संस्थाहरूमा न्यून प्रतिनिधित्व छ र अर्थतन्त्र, स्वास्थ्य र शिक्षाका सूचकाङ्कहरूमा पनि औसतमा तल्लो स्थान छ। संविधानले “समावेशिता” को प्रत्याभूति गरेको छ भन्ने कुरामा सरकारले जोड दिए तापनि विरोधीहरू यसले सीमान्तीकरणलाई सम्बोधन गर्न नसकेको र त्यसलाई अझ गहिर्‍याउन सक्ने बताउँछन्।

अगस्टमा आन्दोलन फैलिँदै गएर प्राणघातक हिंसाका घटनाहरू दोहोरिन थालेपछि प्रक्रियालाई अघि बढाइरहेका मुख्य राजनीतिक दलहरूले तत्कालै संविधान जारी गर्न आवश्यक भएको कुरा बताउन थाले। उनीहरूले असन्तुष्ट समूहहरूलाई काठमाडौँ आएर वार्ता गर्न आग्रह त गरे तर उनीहरूको मागका बारेमा छलफल गर्नका लागि संविधान मस्यौदाको प्रक्रियालाई स्थगन गर्न भने अस्वीकार गरे। उनीहरूको तर्क थियो, संविधानलाई संविधानसभाका निर्वाचित सदस्यहरू मध्ये अत्यधिक बहुमतले समर्थन गरेको छ र आन्दोलनकारी समूहहरूको माग पूरा गर्नका लागि संविधानलाई पछि संशोधन गर्न पनि सकिन्छ। कसैले त विरोधका कार्यक्रमहरूलाई भारतले चम्काएको कुरा पनि गरे।[1] सरकारको भनाइ अनुसार आन्दोलनकारीहरूले अरू कुनै विकल्पका लागि ठाउँ बाँकी नराखेपछि मात्र प्रहरीले घातक बल प्रयोग गरेको हो, यद्यपि प्राप्त प्रमाणहरूले अवस्था त्यस्तो नभएको सङ्केत गर्छन्।[2]

सेप्टेम्बर २० मा संविधान जारी भएपछि घातक हिंसा निरन्तर चलिरहेको छ। आधा नेपालीहरूको बसोबास भएको तराईको अधिकांश भाग हडताल र प्रदर्शनहरूका कारण निस्तब्ध भएको छ। कैलालीको टिकापुर नगरमा अगस्ट २४ देखि नै कर्फ्यु जारी छ।

दुवैतर्फका सामुदायिक नेताहरूले ठाडो र नाराबाजीको भाषा  प्रयोग गरेका छन् जसले तनावलाई चर्काउने डर छ। कैलाली जिल्लामा खासगरी २४ अगस्टमा आन्दोलनकारीहरूले आठ जना प्रहरी अधिकृतहरूलाई मारेपछि व्यक्तिगत सम्पत्तिमा साम्प्रदायिकता प्रेरित आक्रमणहरू भए।

यद्यपि ध्यान दिन आवश्यक कुरा के छ भने, कैलालीमा थारू समुदायका व्यक्तिहरूको सम्पत्तिमा आक्रमण भए तापनि, सम्बन्धित अधिकारीहरूका अनुसार यस रिपोर्टले समेटेका क्षेत्रहरूमा आन्दोलनकारीले समुदाय, जाति, जात र अरू कुनै प्रकारका भेदभावजन्य मनसायबाट आक्रमण गरेका कुनै घटना जानकारीमा आएका छैनन् । तर मूलधारका सञ्चारमाध्यमहरूमा प्रायः चित्रण गरिएको आन्दोलनको छविका विपरित यी आन्दोलनहरूको मूल राजनीतिक कारण सामुदायिक आधारमा भएको समाजको ध्रुवीकरण नै हो। सोही समयमा, प्रभावित क्षेत्रमा हामीले कुरा गरेका धेरै व्यक्तिले बताए अनुसार प्रहरीले उनीहरूप्रति अपमानजनक र गालीगलौजपूर्ण भाषा प्रयोग गरेको थियो। सामाजिक सञ्जालमा पनि ठाडो र पूर्वाग्रहपूर्ण टिप्पणीहरूको चिन्ताजनक विष्फोट भयो। देशका केही क्षेत्रहरूमा स्थिति बिग्रेर साम्प्रदायिक हिंसासम्म हुनसक्ने व्यापक डर नेपालका टिप्पणीकर्ताहरूमा देखियो।

जनताबाट हुनसक्ने अशान्ति र आन्दोलनलाई नियन्त्रण गर्ने उद्देश्यले स्थानीय प्रशासनले केही क्षेत्रहरूमा कर्फ्यु जारी गर्‍यो र “प्रतिबन्धित” र “निषेधित” क्षेत्रहरू घोषणा गर्‍यो, जसमध्ये केही लामो समयदेखि अहिलेसम्म जारी छन्। यी मध्येका केही प्रतिबन्धहरूले आवतावतको स्वतन्त्रता र आर्थिक गतिविधिहरूमा गम्भीररूपले अवरोध पुर्‍याएको छ।

नयाँ संविधानसित असन्तुष्ट मधेशी र थारू समूहहरूले अगस्टको सुरुदेखि तराईका धेरै ठाउँहरूमा आयोजना गरेको बन्द (यातायात लगायत) अहिले यो रिपोर्ट तयार पार्दासम्म, करीब दुई महिना पछि पनि जारी छ। तराईको जनसङख्याको उल्लेखनीय भागले समर्थन गरेको देखिएका यी मध्ये केही बन्दका कारण गम्भीर आर्थिक क्षति भएको छ।

यस रिपोर्टमा वर्णन गरिएका धेरै घटनाका बारेमा हिंसाग्रस्त क्षेत्रहरूमा सबै कुरा थाहा भएको भए पनि देशका बाँकी भागमा यस कुराको जानकारी छैन। सञ्चार माध्यमहरूले आन्दोलनकारीहरूलाई निरन्तररूपमा हिंसक भनेर चित्रण गरेका छन् र कैयन् पत्रकारहरू प्रहरीद्वारा भएको केही गैरकानूनी हिंसाको प्रत्यक्षदर्शी भए पनि र उनीहरूले त्यसको भिडियो समेत खिचेको भए पनि त्यसको विस्तृत विवरण भने रिपोर्टिङ गरिएको छैन। पत्रपत्रिकाका सम्पादकहरूले यी निर्णयहरूलाई “सामाजिक सद्‍भावको रक्षाका लागि” भनेर अर्थ्याउने गरेका छन्।

सरकारले सुरक्षा बलहरूद्वारा आन्दोलनकारीहरूका विरुद्धमा हुने जथाभावी बल प्रयोग तत्काल रोक्न आवश्यक छ। अझ खासगरी, उनीहरूले कानून परिपालना गराउने निकायहरूबाट प्रयोग गरिने बल र हातहतियारको प्रयोग सम्बन्धी संयुक्त राष्ट्रसंघीय आधारभूत सिद्धान्त पालना गर्नुपर्छ। सुरक्षा बलले गैरकानूनी हिंसा तुरुन्त रोक्नुपर्छ। नागरिकहरूप्रति धम्कीपूर्ण तथा अपमानजनक भाषाको प्रयोगको अन्त्य हुनुपर्छ। सरकारले आन्दोलनकारीहरूको गैरन्यायिक हत्याको छानबिन गर्न तुरुन्त स्वतन्त्र निकायहरूको स्थापना गर्नुपर्छ र प्रहरी अधिकृतहरूको हत्याका लागि आरोपित व्यक्तिहरू लगायत अपराधको आरोप लागेका सबैलाई उपयुक्त प्रक्रिया अपनाएर र निष्पक्ष सुनुवाइको अधिकार उपलब्ध गराएर कारवाही अगाडि बढाउनु पर्छ।

आन्दोलनलाई शान्तिपूर्ण राख्नका लागि सबै सम्भाव्य कदमहरू चाल्न तथा गम्भीर अपराधका लागि जिम्मेवार व्यक्तिहरूलाई न्यायका समक्ष पुर्‍याउनका लागि सम्बन्धित निकायलाई पूर्ण सहयोग गर्न ह्युमन राइट्स वाच आन्दोलनकारी र आन्दोलका नेताहरूलाई आग्रह गर्दछ। आन्दोलनकारी र सरकार लगायत यस राजनीतिक मतभेदका सबै पक्षमा रहेकाहरूले साम्प्रदायिक तनावलाई बढाउने खालका कुनै पनि कामबाट जोगिन विशेषरूपले जरूरी छ।

आधारभूत अन्तर्राष्ट्रिय मानव अधिकारको सम्मान गर्न तथा यस रिपोर्टमा वर्णन गरिएका लगायतका स्थानीय सञ्चार माध्यम, गैरसरकारी सङ्गठन तथा राष्ट्रिय मानव अधिकार आयोग जस्ता विश्वसनीय संस्थाका रिपोर्टहरूमा उल्लेख भएका घटनाका बारेमा समयमा नै र विश्वसनीय छानबिन गराउनका लागि अन्तर्राष्ट्रिय समुदायहरूले नेपाल सरकारलाई दवाब दिन जरूरी छ।




सिफारिसहरू

सरकार र सुरक्षाबलहरूका लागि
·       सम्पूर्ण सुरक्षाबलहरूले कानून परिपालना गराउने निकायहरूबाट प्रयोग गरिने बल र हातहतियारको प्रयोग सम्बन्धी संयुक्त राष्ट्रसंघीय आधारभूत सिद्धान्त पालना गरेको सुनिश्चित गर्ने।
·       विवेकहीन ढङ्गले र ठूलो मात्रामा शक्ति प्रयोग गर्न तुरुन्तै बन्द गर्ने र घातक हतियारको नियतपूर्वक प्रयोग जीवनरक्षा गर्नु परेको अवस्थामा मात्र गरिनेछ भन्ने कुरा सुनिश्चित गर्ने।
·       प्रदर्शनकारी तथा प्रहरीको गैरकानूनी हत्याका बारेमा छानबिन गर्न तत्कालै स्वतन्त्र छानबिन आयोग गठन गर्ने।
·       उक्त छानबिनको परिणामलाई न्यायिक कारबाहीका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाउने कुरा सुनिश्चित गर्ने।
·       आन्दोलनका क्रममा हिंसा तथा अन्य अपराधको अभियोग लागेका व्यक्तिहरूलाई निष्पक्ष सुनवाइको अवसर, यातनाबाट मुक्ति, कानून व्यवसायी तथा परिवारका सदस्यहरूसितको पहुँच लगायतका प्रक्रियागत अधिकारहरू प्रदान गरिनेछ भन्ने कुरा सुनिश्चित गर्ने। अभियुक्तहरूले हिरासतमा दिएको बयानलाई प्रमाणका रूपमा अदालतमा पेश गरिने छैन भन्नेकुरा पनि सुनिश्चित गर्ने।
·       थारू र मधेशी समुदायका व्यक्तिहरूप्रतिको कुटपिट, धम्की तथा सुरक्षाकर्मीहरूबाट हुने जातिगत अपमान लगायतका त्राश र उत्पीडन बन्द गर्ने।
·       भेला हुने, सङ्गठन गर्ने र अभिव्यक्तिको अधिकार लगायतका राजनीतिक हकहरूको पूर्ण संरक्षणको प्रत्याभूति गर्ने।
·       अधिकारहरूको हननको समाधानका बारेमा सम्पूर्ण असन्तुष्ट समुदायहरू र सम्बद्धहरूसित व्यापक परामर्श गर्ने।
·       अधिकार हननप्रतिको जवाफदेहिता तथा त्यसको सुधार गर्नका लागि प्रभावकारी न्यायिक उपचार उपलब्ध गराउने लगायत अल्पसङ्ख्यक समुदायहरूले बेहोरेको कुनै पनि प्रणालीगत भेदभावलाई सम्बोधन गर्न तत्कालै कदम चाल्ने।
·       सार्वजनिक कार्यालयमा कुनै पनि पदमा रहेका कुनै पनि व्यक्तिले घृणापूर्ण भाषा बोलेमा वा गम्भीर अपराधका लागि कसैलाई उकासेको सावित भएमा उसले गम्भीर परिणामको सामना गर्नु पर्नेछ जसमा छानबिन, सार्वजनिक कार्यालयबाट निष्काशन वा आपराधिक अभियोगमा कारवाही समेत हुन सक्नेछन् भनी स्पष्ट निर्देशन जारी गर्ने।
·       सम्पूर्ण सुरक्षाबलहरूले शिक्षा मन्त्रालयको २०११ को “विद्यालयहरू शान्तिक्षेत्र हुन् राष्ट्रिय फ्रेमवर्क तथा कार्यान्वयन निर्देशिका” को पालना गर्छन् भन्ने कुरा सुनिश्चित गर्ने।

आन्दोलनकारी र आन्दोलनका नेताहरूका लागि
·       हिंसा र अरू अपराधहरू गर्नबाट जोगिन सबै आन्दोलनकारीहरूलाई सार्वजनिक आह्वान गर्ने।
·       गम्भीर अपराधहरूका बारेमा हुने कुनै पनि छानबिनमा प्रहरीलाई पूर्ण सहयोग गर्ने।
अन्तर्राष्ट्रिय समुदायहरूका लागि
·       नेपालको सरकारलाई प्रदर्शनहरूको समयमा खटाइएका प्रहरीहरूबाट अत्यधिक बल प्रयोग नगर्न, उसको अन्तर्राष्ट्रिय दायित्व पालना गर्न तथा कानून परिपालना गराउने निकायहरूबाट गरिने बल प्रयोग सम्बन्धी संयुक्त राष्ट्रसंघीय आधारभूत सिद्धान्त पालना गर्न तत्काल दवाब दिने।
·       कथित मानव अधिकारको हननका घटनाका लागि समयमा नै विश्वसनीय छानबिन गर्न एवं सुरक्षा बल तथा आन्दोलनकारी दुवै समूहका जिम्मेवार व्यक्तिहरूलाई कारवाही गर्नका लागि नेपाल सरकारलाई दवाब दिने।
·       मानवअधिकार सम्बन्धी उच्चायुक्तको कार्यालयबाट पहुँचका लागि दवाब दिने  लगायत नेपालभित्र गरिने अन्तर्राष्ट्रिय मानव अधिकार अनुगमनका लागि क्षमता सुदृढीकरण गर्ने।
·       मानव अधिकारको हननलाई बल पुर्‍याउने गतिविधि र आलङ्कारिक भाषाका सम्बन्धमा सतर्क रहने र अरूलाई पनि त्यसबाट प्रयत्नपूर्वक रोक्ने।


[1] प्रतीक प्रधान, गलत सल्लाह (“Wrong Advice,”) रिपब्लिका, सेप्टेम्बर १६, २०१५ http://myrepublica.com/opinion/story/28261/wrong-advice.html (हेरिएको मिति सेप्टेम्बर २९, २०१५) यो लेख प्रधानमन्त्रीका प्रेस सल्लाहकारद्वारा लेखिएको हो, यस लेखले सरकार र यसका समर्थकहरूका धेरै विचारहरूलाई प्रतिनिधित्व गर्छ।

[2] “तराई आन्दोलनमा देखिएको अपूर्व हिंसा: गौतम,” रिपब्लिका, सेप्टेम्बर ६ 2015,http://www.myrepublica.com/feature-article/story/27680/unprecedented-violence-seen-in-taraiTerai-protest-gautam.html (accessed September 29, 2015).

तराईको विरोध प्रदर्शनका क्रममा भएका मृत्युहरूको छानबिन गर



मृत्युका लागि जिम्मेवार व्यक्ति हरूलाई कारवाही गर

(न्यूयोर्क, अक्टोबर १६, २०१५) – संवैधानिक विवादका बारेमा हाल भइरहेको विरोध प्रदर्शनमा भएको हत्या र अन्य मानवअधिकार हननका घटनाका लागि जिम्मेवार व्यक्तिहरूलाई संबन्धित नेपाली निकायहरूले तत्काल छानबिन गरेर न्याय समक्ष प्रस्तुत गर्नुपर्छ, ह्युमन राइट वाचले आज प्रकाशित एउटा रिपोर्टमा भनेको छ।
अगस्ट र सेप्टेम्बरमा गरेर विरोध प्रदर्शनका क्रममा कम्तिमा ४५ जना मारिएका छन्। उक्त हिंसामा शक्तिको एकपक्षीय र असमानुपातिक प्रयोग, प्रहरीबाट भएको प्रदर्शनकारीको गैरन्यायिक हत्या, बालबिकाको हत्या र प्रहरी अधिकृतहरूको हत्या जस्ता कुरा संलग्न छन्।
“अधिकारहरूलाई सम्मान गर्ने संविधानको मस्यौदा तयार गर्नु नेपालमा एउटा भावनात्मक कुरा भए पनि मानव अधिकारको गम्भीर उल्लङ्घन गरेर असहमतिहरूलाई समाधान गर्न सकिँदैन,” ह्युमन राइटस् वाचका एसिया डाइरेक्टर ब्राड आडम्स भन्नुहुन्छ। “निष्पक्ष र प्रभावकारी छानबिन हुन्छ भन्ने कुरामा आश्वस्त तुल्याउनु सरकारको जिम्मेवारी हो र ऊ त्यसबाट पन्छिन सक्दैन।”
हामी चाहिँ नेपाली नै होइनौँ जस्तो ले २०१५ को अगस्ट २४ देखि सेप्टेम्बर ११ सम्म तराईका ५ जिल्लामा भएको १६ जना सर्वसाधारण र ९ जना प्रहरी अधिकृत गरी २५ जनाको हत्याका सम्बन्धमा ह्युमन राइट्स वाचले गरेको छानबिनको अभिलेख गरेको छ। मृतकहरू मारिएको समयमा उनीहरूले कुनै पनि प्रकारको खतरा हुनसक्ने कार्य गरेको प्रमाण ह्युमन राइट्स वाचले फेला पारेको छैन।
गएको अप्रिलको विनाशकारी भूकम्प र त्यसका कारण सृजित कठोर मानवीय सङ्कट पछि नेपालका राजनीतिक दलहरूले १० वर्षदेखिको राजनीतिक गतिरोधको अन्त्य गरेर संविधान जारी गर्ने निर्णय गरे। बाचा गरिए विपरित, सेप्टेम्बरमा संविधान जारी गरिनु अघि जनताले संविधानका बारेमा छलफल गर्न एकदमै कम मात्र समय पाए। त्यसको तुरुन्तै पछिदेखि पहिले गरिएका सम्झौताहरूको आधारमा फराकिलो राजनीतिक स्वायत्तताको माग गर्दै मूलतः सुदुर पश्चिमाञ्चल र दक्षिणी मैदानका अल्पसङ्ख्यक जातीहरूका क्षेत्रहरूमा निरन्तररूपमा विरोध प्रदर्शन सुरु भयो, जसमा यदाकदा हिंसाका घटनाहरू पनि भए।
ह्युमन राइट्स वाचको रिपोर्टमा अगस्ट २४ मा टिकापुरमा ठूलो सङ्ख्यामा आएका प्रदर्शनकारीहरूले प्रहरीको सानो समूहलाई घेरामा पारी घरेलु हातहतियारद्वारा आक्रमण गरेर मारेका  ८ सहित ९ जना प्रहरी अधिकृतहरूको हत्याको पनि अभिलेख छ।
सरकारले आन्दोलनलाई नियन्त्रणमा लिन लागि सुरक्षा बल खटाए पछि मानव अधिकारको गम्भीर उल्लङ्घन भएको विश्वसनीय रिपोर्टहरू ह्युमन राइट्स वाचले फेला पारेको छ। ह्युमन राइट्स वाचले भ्रमण गरेका सबै पाँचै जिल्लामा अनुसन्धानकर्ताहरूले घर भित्र पसेर महिला र बुढापाका लगायतका घरका मानिसहरूलाई प्रहरीले गरेको कुटपिट; हिंसात्मक घटनाका बेला गरेको जातीय हिसाबले अपमानजनक गाली गलौज, ज्यान मार्ने धम्की, बाटो हिँड्ने मान्छेहरूलाई गरेको जथाभावी कुटपीट तथा नयाँ संविधानको विरोध गर्ने समुदायका सदस्यहरूलाई गरिएको दुर्व्यवहार जस्ता विषयमा प्रत्यक्षदर्शीका बयानहरूको अभिलेख तयार गरेको छ।
बीरगञ्जमा दुईजना प्रत्यक्षदर्शीले एकजना प्रहरी अधिकृतले एउटा अस्पतालमा कसरी नियतपूर्वक गोली चलाए भन्ने कुराको वर्णन गरे। उक्त घटनामा दुवै प्रत्यक्षदर्शीलाई गम्भीर चोटपटक लागेको थियो। अरू घटनाहरूमा प्रहरीले अत्यधिक र विवेकशून्य ढङ्गले शक्ति प्रयोग गरेको र निहत्था प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्नुको साटो मारेको कैयन् प्रत्यक्षदर्शीहरूले बताएका छन्।
१४ वर्षका नितू यादव प्रदर्शनकारी मध्येका एकजना थिए। उनले झाडीमा छलिएर प्रहरीबाट जोगिने प्रयास गरे। त्यसपछि के के भयो भन्ने कुरा चार जना अलग अलग प्रत्यक्षदर्शीले ह्युमन राइट्स वाचलाई बताए। प्रहरीले लुकेका ठाउँबाट ती बालकलाई घिसारेर बाहिर निकाल्यो, जमीनमा पछार्‍यो, एकजना अधिकृत उनका खुट्टामा टेकेर उभिए र उनको अनुहारमै ताकेर गोली हाने। पछि यादवको शव परीक्षा गर्ने डाक्टरहरूले चोटका आधारमा पनि यही बयानलाई पुष्टि गरे। प्रत्यक्षदर्शीहरूले ह्युमन राइट्स वाचलाई बताए अनुसार अर्का निहत्था प्रदर्शनकारी सञ्जय चौधरी भाग्न खोज्दा पछाडिबाट गोली हानियो। अस्पताल पुर्‍याएको केही छिनमै उनको मृत्यु भयो।
सरकारले वर्तमान विवाद र हिंसाको समाधानका लागि वार्ता गर्न अस्वीकार मात्र गरेको नभई दुर्व्यवहारका लागि जिम्मेवार प्रहरी र सुरक्षाकर्मीहरूलाई कारवाही गरिने कुरा पनि सम्बन्धित निकायले सुनिश्चित गर्न बाँकी नै छ। अक्टोबर १२ मा सुशील कोइरालाका ठाउँमा खड्गप्रसाद ओली प्रधानमन्त्री हुनुभएको छ।
“नेपालको नयाँ नेतृत्वले नेपालमा व्याप्त दुर्व्यवहारको लहरलाई साम्य पार्नका लागि तत्कालै कदम चाल्नुपर्छ,” आडम्सले भन्नुभयो। “सरकारले छानबिनका लागि आदेश दिनुपर्छ र सुरक्षाबलहरूलाई अत्यधिक बलप्रयोग गर्नबाट टाढा राख्नुपर्छ।”
 ’हामी चाहिँ नेपाली नै होइनौँ जस्तो’ नेपालको तराई क्षेत्रमा विरोध प्रदर्शन र प्रहरी कारवाही” यो वेबसाइटमा उपलब्ध छः
ह्युमन राइट्स वाचका नेपाल सम्बन्धी थप रिपोर्टहरूका लागि कृपया यहाँ जानुहोला

थप जानकारीका लागि सम्पर्क गर्नुहोलाः
क्वालालाम्पुरमा, ब्राड आडम्स (अंग्रेजी) +1-347-463-3531 (मोबाइल); वा इमेलः  adamsb@hrw.org. ट्विटरमाः @BradAdamsHRW
क्वालालाम्पुरमा, मीनाक्षी गांगुली (अंग्रेजी, हिन्दी र बंगाली) +1-646-641-5655 (मोबाइल); वा इमेलः  gangulm@hrw.org. ट्विटरमाः @mg2411
क्वालालाम्पुरमा, तेजश्री थापा (नेपाली र अङ्ग्रेजी) : +1-917-443-2235 (मोबाइल); वा इमेलः  thapat@hrw.org